काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामको ऋणपत्रमार्फत लगानीकर्ताबाट रकम जुटाउन लागेको हो ।
सात वर्ष अवधि रहेको ऋणपत्रमा प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता निष्कासन गरिनेछ । यस ऋणपत्रमा लगानी गर्नेले तोकिएको ब्याजदरअनुसार प्रतिवर्ष ६ प्रतिशत ब्याज पाउनेछन् । ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिने बैंकले जनाएको छ ।
कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम आवेदन सीमा भने निष्कासनमा उपलब्ध सम्पूर्ण कित्तासम्म रहेको छ ।
बिक्री छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ । मागअनुसार आवेदन नपरेमा तोकिएको अन्तिम मितिसम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सम्बन्धमा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ । यद्यपि, क्रेडिट रेटिङले लगानीको जोखिम पूर्ण रूपमा समाप्त भएको वा प्रतिफलको ग्यारेन्टी भएको जनाउँदैन ।




















