काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवामा उत्कृष्ट कारोबार गरेको भन्दै फोनेपेबाट तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले फोनेपेद्वारा आयोजित फोनेपे अवार्ड कार्यक्रममा रकम स्थानान्तरण, क्यूआरमार्फत भुक्तानी र क्यूआर कारोबार प्राप्त गर्ने तीन विधामा सम्मान पाएको हो ।
बैंकका अनुसार मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम स्थानान्तरण गरेको आधारमा ‘हाइएस्ट फोनेपे डाइरेक्ट भोल्युम अवार्ड प्रदान गरिएको छ । त्यस्तै, मोबाइल एपबाट क्यूआरमार्फत सबैभन्दा धेरै भुक्तानी गरेको आधारमा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम अवार्ड प्राप्त गरेको छ ।
यसैगरी, क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा बैंकले ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम अवार्ड पाएको जनाएको छ । डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन र विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी सम्मानले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काउने बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा ग्राहकलाई अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यो उपलब्धिमा सहयोग गर्ने सम्पूर्ण ग्राहक, साझेदार संस्था र कर्मचारीप्रति आभार प्रकट गरेको छ ।




















