काठमाडौं – एनआईसी एसिया बैंकले हाल सञ्चालनमा रहेको आईटच इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा बन्द गर्ने भएको छ । बैंकले सूचना जारी गर्दै आगामी २०८३ माघ १ गतेदेखि आईटच इन्टरनेट बैंकिङ सेवा निष्क्रिय हुने जनाएको हो ।
बैंकका अनुसार विद्यमान ग्राहकले आईटच सेवा बन्द हुनुअघि बैंकले तोकेको समयभित्र वैकल्पिक डिजिटल बैंकिङ सेवामा स्थानान्तरण हुनुपर्नेछ । बैंकले ग्राहकलाई ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवा प्रयोग गर्न आग्रह गरेको हो ।
आईटच इन्टरनेट बैंकिङ प्रयोग गरिरहेका ग्राहकलाई ओएमएनआई सेवामा स्थानान्तरण हुन २०८३ पुस ३० गतेसम्मको समय दिइएको बैंकले जनाएको छ ।
बैंकले आईटच इन्टरनेट बैंकिङ सेवामा नयाँ दर्ता तथा नवीकरणको कामसमेत पूर्णरूपमा बन्द हुने स्पष्ट पारेको छ । अब नयाँ ग्राहक तथा विद्यमान ग्राहकले डिजिटल बैंकिङ सेवाका लागि ओएमएनआई प्रणाली प्रयोग गर्नुपर्नेछ ।
ओएमएनआई सेवामा दर्ता तथा सेवा सक्रिय गर्न बैंकले उपलब्ध गराएको आधिकारिक प्रक्रियामार्फत आवेदन दिन सकिनेछ । ग्राहकले बैंकको इ–सेवा पोर्टलमार्फत ओएमएनआई सेवामा दर्ता गरी डिजिटल बैंकिङ सुविधा सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ ।


विश्व खबर 


















