काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै रु १०० दरका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट रु १०० दरका नोट वितरण गर्न थालेका छन् । चाडपर्वका समयमा नोट सटहीका लागि हुने भीडलाई व्यवस्थापन गर्न एटीएममार्फत पनि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।
“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,” उनले भने, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैँ मनाउन भनी सूचना जारी गर्न उपयुक्त देखिएन । हामीले यही ढङ्गले गर्न लागेका हौँ।”
प्रवक्ता पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था सुरु गरिएको छ ।
राष्ट्र बैंकले पछिल्ला चार–पाँच वर्षदेखि चाडपर्व लक्षित गरेर ठूलो मात्रामा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गर्दै आएको पनि पौडेलले बताए ।
उनका अनुसार गत भदौ ३१ गतेसम्म मुलुकमा रु सात खर्ब ९४ अर्ब बराबरको मुद्रा चलनचल्तीमा रहेको छ । दसैँका समयमा उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ ।
राष्ट्र बैंकले नयाँ नोटको प्रयोगभन्दा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । यसबाट नोटको व्यवस्थापन खर्च घटाउनुका साथै नोटको आयु बढाउन सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ ।


विश्व खबर 

















