images
images
  • चाडपर्वमा साइबर ठगी रोक्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

    काठमाडौं – विजया दशमी, दीपावली तथा छठ पर्वको लामो बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई बिदाको समयमा हुन सक्ने साइबर ठगी तथा स्क्यामका घटना रोक्न र प्रहरी अनुसन्धानमा सहयोग पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने शंकास्पद आर्थिक कारोबार पहिचान गरी आवश्यकताअनुसार तत्काल रोक्का गर्नुपर्नेछ । त्यस्ता घटनाको अनुसन्धानका लागि माग गरिएका कारोबार विवरणसमेत समयमै उपलब्ध गराउन राष्ट्र बैंकले भनेको छ ।

    यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा एक जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्नेछ । सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगानासहितको विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेलमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

    चाडपर्वको लामो बिदामा बैंकका नियमित सेवा प्रभावित हुन सक्ने र अनलाइन कारोबार बढ्ने सम्भावनालाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । बिदाका समयमा हुन सक्ने विद्युतीय ठगीका घटनामा तत्काल समन्वय गर्न र अनुसन्धान प्रक्रिया छिटो अघि बढाउन सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी माध्यमको प्रयोग बढिरहेका बेला चाडपर्वको समयमा ठगीका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images