images
images
  • बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

    काठमाडौं – बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले ६० दिन अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो ।

    राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थासँग बोलकबोल प्रस्ताव माग गरेको छ । इच्छुक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्।

    राष्ट्र बैंकका अनुसार यस उपकरणमार्फत सङ्कलन गरिने रकमको साँवा तथा ब्याज आगामी मङ्सिर २३ गते भुक्तानी गरिनेछ । यसको ब्याजदर भने बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको दरका आधारमा निर्धारण हुनेछ ।

    पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि सोही अनुपातमा कर्जाको माग र विस्तार हुन सकेको छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । पर्याप्त तरलताका कारण अल्पकालीन ब्याजदरमा दबाब पर्न सक्ने भएकाले राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत बजारबाट रकम प्रशोचन गर्दै आएको छ ।

    अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरको सीमाभित्र राख्न तथा मौद्रिक स्थिरता कायम गर्न केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको हो।

    राष्ट्र बैंकले यसअघि पनि विभिन्न चरणमा निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ठूलो परिमाणमा रकम उठाइसकेको छ । उपलब्ध विवरणअनुसार यसअघि प्रशोचन गरिएकोमध्ये करिब सात खर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेको छ । तर, बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेपछि केन्द्रीय बैंकले थप ७० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

    बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न र ब्याजदरमा सन्तुलन कायम राख्न यस कदमले सहयोग पुग्ने विश्वास गरिएको छ । कर्जाको विस्तार अपेक्षित रूपमा नबढ्नु र विप्रेषण आप्रवाहमा वृद्धि हुनुले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था अझै केही समय कायम रहन सक्ने विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images