images
images
  • रेमिट्यान्ससम्बन्धी विवरण बुझाउने ढाँचा राष्ट्र बैंकले फेरियो

    काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनी तथा विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले पेश गर्नुपर्ने विभिन्न विवरणको ढाँचा परिमार्जन गरेको छ ।

    राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले सूचना जारी गर्दै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधनसहित)’ बमोजिम पेश गर्नुपर्ने विवरणको संशोधित ढाँचा सार्वजनिक गरेको हो । नयाँ व्यवस्था २०८३ कात्तिकदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

    परिमार्जित विवरण ‘एफएक्सओएल’ प्रतिवेदन प्रणाली तथा तोकिएको इमेलमार्फत निर्धारित समयभित्र पेश गर्नुपर्नेछ ।

    नयाँ व्यवस्थाअनुसार कम्पनी वा संस्थाले आफैं वा उप–एजेन्टमार्फत गरेको आन्तरिक विप्रेषण भुक्तानीको मासिक विवरण महिना सकिएको सात दिनभित्र बुझाउनुपर्नेछ । यसका लागि तयार गरिएको फाराममा ‘भुक्तानीको माध्यम’सम्बन्धी नयाँ महल थप गरिएको छ ।

    त्यस्तै, कारबाहीमा परेका उप–एजेन्ट तथा उप–प्रतिनिधिको विवरण पनि महिना सकिएको सात दिनभित्र पेश गर्नुपर्नेछ । देशगत आन्तरिक विप्रेषणको मासिक विवरण महिना सकिएको सात दिनभित्र र दैनिक कारोबार विवरण कारोबार भएको तीन दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

    विप्रेषण कम्पनीका लागि मात्र लागू हुने व्यवस्थाअनुसार सञ्चालक समितिको विवरण आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र वार्षिक रूपमा पेश गर्नुपर्नेछ । सञ्चालक समितिमा हेरफेर भएमा भने परिवर्तन भएको सात दिनभित्र विवरण बुझाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले विप्रेषण कारोबारसम्बन्धी विवरणलाई थप व्यवस्थित, नियमित र पारदर्शी बनाउन नयाँ ढाँचा लागू गर्न लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images