काठमाडौं– दसैंमा अरु चाडपर्व तथा दिनमा भन्दा काठमाडौं उपत्यकामा झण्डै चार गुणा बढी खसीबोकाको मासु खपत हुन्छ । मासु खपत भएअनुसार स्वदेशमै उपलब्ध खसीबोकाले त्यो माग धान्दैन । त्यसैले गत वर्षसम्म काठमाडौं उपत्यकामा मागको ६० प्रतिशत खसीबोका भारतबाट आयात हुँदै आएको नेपाल व्यावसायिक बाख्रापालक महासंघले जनाएको छ ।
महासंघका अनुसार गत वर्ष काठमाडौंमा दसैंको लागि ४५ हजार वटा खसीबोका बिक्री गरिएको थियो । जुन अघिल्लो वर्षको दसैंमा भन्दा ५ हजार कम थियो । यसवर्ष पनि करिब ५० हजार खसीबोका तथा भेंडाच्याङ्ग्रा काठमाडौं उपत्यका ल्याइएको महासंघले जनाएको छ । जसमध्ये गत वर्षजस्तै यस वर्ष पनि भारतबाट उल्लेख्य मात्रामा खसीबोका भित्र्याइएको छ ।
महासंघले देशभर खपत हुने खसीबोकामध्ये ठुलो हिस्सा काठमाडौं उपत्यकाकै छ । जसअनुसार गत वर्ष डेढ अर्ब बराबरको खसीबोका खरिदबिक्री भएको थियो ।
अझ यसमा भेंडाच्याङ्ग्राको तथ्यांक समावेश छैन । दसैंमा खसीबोकासँगै च्याङ्ग्राको माग पनि बढिरहेको छ । काठमाडौं उपत्यकामा दसैंमा घटीमा ५ हजार च्याङ्ग्रा खरिद बिक्री हुने महासंघले जनाएको छ ।
काठमाडौंमा माग हुने च्याङ्ग्रा पनि छिमेकी देश चीनको तिब्बतबाट आयात हुँदै आएको छ । नेपालीको हिमाली क्षेत्रमा पालिएका भेंडाच्याङ्ग्राले मात्रै माग धान्न नसकिने भएकाले हिमाली क्षेत्रकै च्याङ्गा व्यवसायीहरुले तिब्बतबाट किनेर काठमाडौं उपत्यकासँगै पोखरा, सुर्खेतलगायतका शहरबजार पुर्याउँदै आएका छन् ।
महासघका अनुसार देशमा पालिएका खसीबोका तथा भेंडाच्याङ्गाले दसैंको माग धान्न सकिरहेको छैन । स्वदेशमा उत्पादित खसीबोका धेरैजसो स्थानीयस्तरमै खपत हुने भएकाले चाडबाडमा काठमाडौं तथा अन्य ठूला शहरका लागि खसीबोका भारतबाटै ल्याउने गरिँदै आएको छ ।
काठमाडौंका एक ठूला व्यवसायी भारतबाट खसीबोका नल्याए दसैंमा मासु पुर्याउनै नसकिने बताउँछन् । उनका अनुसार दसैको समयमा सामान्य दिनको चार गुणा बढी मासु खपत हुन्छ ।
उनले दसैंमा काठमाडौंमा दैनिक एक हजार पाँच सय वटासम्मको खसीबोकाको मासु बिक्री हुने अनुमान गरे ।

दसैंमा खसीबोकासँगै भेंडाच्याङ्ग्रा, कुखुरा, हाँस, राँगा, बुंगुरलगायतको मासु पनि बिक्री हुन्छ । तर मुख्य रुपमा दसैंमा खसीबोकाको मासुलाई नै बढी प्राथमिकता दिइन्छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार नेपालमा नेपालमा एक वर्षमा प्रतिव्यक्ति २० केजी २०० ग्राम मासु उपलब्ध छ । विभागका महानिर्देशक उमेश दाहालका अनुसार आर्थिक वर्ष २०८२्८३ मा नेपालमा वार्षिक ४ लाख ५६ हजार ४३० मेट्रिक टन मासु उत्पादन भएको थियो । जसमा सबैभन्दा कुखुराको मासु १ लाख ८० हजार ७६ मेट्रिक टन वार्षिक उत्पादन भएको थियो ।
कुखुरापछि भैंसीको मासु १ लाख ३८ हजार २७१ मेट्रिक टन र खसीबोकाको मासु ८६ हजार २८० मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै बंगुरको ३९ हजार १८३ मेट्रिक टन र भेंडाच्याङ्ग्राको २ हजार ७६२ मेट्रिक टन मासु नेपालमा उत्पादन भएको थियो ।
नेपालमा उत्पादित मासुले मात्रै नपुगेपछि रु. १ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको ४ हजार ३१६ केजी मासुजन्य पदार्थ आयात भएको उनले जानकारी दिए । भंसार विभागका अनुसार भने ९०५ वटामात्रै जिउँदो जनावर आयात भएको तथ्यांक रहेको छ ।
पशुसेवा विभागका अनुसार गत आर्थिक वर्षमै रु. १ अर्ब ५३ करोड ५ लाख ९४ हजार रुपैयाँ बराबरको ५७ लाख २७ हजार २६३ केजी माछा तथा मत्स्यजन्य पदार्थ आयात भएको थियो ।
विभागको २०८०/८१ को तथ्यांकअनुसार नेपालमा १ करोड ५२ लाख ८९ हजार ९५६ वटा बाख्रापालन गरिएको छ । त्यस्तै ६ लाख ३३ हजार २२२ वटा भेंडाच्याङ्ग्रा पालिएको छ । भैंसीको संख्या भने ३३ लाख ७ हजार ३१ वटा रहेको छ । त्यस्तै बंगुरसुंगुरको संख्या १४ लाख ९७ हजार ४११ वटा रहेको छ ।






















