images
images
  • पोखरा-दुबई उडानको लागि वर्षदिनको टिकट बुकिङ खुला

    पोखरा– सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मकै बुकिङ खुला गरेको छ । यससँगै फ्लाई दुबईको उडान नियमित हुनेमा यहाँका व्यवसायीहरु उत्साहित भएका छन् ।

    फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई-पोखरा-दुबई उडान सुरुआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताए ।

    चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको सङ्ख्या केही कम रहेको छ । चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढ्ने पर्यटन व्यवसायी श्रेष्ठको भनाइ छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताए ।

    फ्लाई दुबईको उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्दै आएको छ । गत सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार ४२३ यात्रु दुबई प्रस्थान गरेको सूचना अधिकारी रावतले जानकारी दिए ।

    फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई-पोखरा-दुबई उडान गर्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो ।

    यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ ।

    सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई-पोखरा-दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

    सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । वि.सं. २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images