काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यस वर्ष रेमिट्यान्सको रकम बढे पनि वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा सुस्त देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह बढेको छ । चालु आर्थिक वर्षको भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो
रेमिट्यान्स आप्रवाह बढिरहेका बेला वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने मिश्रित अवस्था देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७८ हजार ३२० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा ९० हजार १९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ हजार ८७८ ले घटेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो दुई महिनामा ४५ हजार ८८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने ६ हजार २७९ ले बढेको छ ।























