images
images
  • बालेन सरकारको अर्थतन्त्र : २ महिनाको राजस्वले धानेन खर्च, महँगी ६.३४ प्रतिशतले वृद्धि

    काठमाडौं– प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका लागि अर्थतन्त्रमा बाह्य सुधार देखिए पनि आन्तरिक चुनौती बढ्दै गएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामा सरकारी खर्च राजस्वभन्दा बढी भएको छ भने व्यापार घाटा र मूल्यवृद्धि बढेको छ ।

    साउन र भदौमा सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गर्दा राजस्व संकलन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ ।

    यस अवधिमा विकास निर्माणमा प्रत्यक्ष जोडिने पुँजीगत खर्च भने ७ अर्ब ६६ करोड रुपैयाँ मात्रै रहेको छ ।

    भदौमा उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यो दर १.८७ प्रतिशत थियो ।

    यसले सर्वसाधारणको दैनिक खर्चमा मूल्यवृद्धिको दबाब बढेको देखाउँछ ।

    यस अवधिमा वस्तु आयात ३१।६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

    निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगे पनि व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

    अर्कोतर्फ, रेमिट्यान्स आप्रवाह २३।९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

    विदेशी मुद्रा सञ्चिति पनि बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

    यसले बाह्य भुक्तानी क्षमतामा सहजता देखाए पनि स्वदेशी उत्पादन र लगानी विस्तारको चुनौती कायमै छ ।

    वैदेशिक रोजगारीका लागि नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या घटेर ७८ हजार ३२० पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिए पनि निजी क्षेत्रमा लगानी विस्तार हुन नसकेको अवस्थाले रोजगारी सिर्जनामा चुनौती देखाएको छ ।

    रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा सुधार भए पनि बढ्दो व्यापार घाटा, महँगी र न्यून पुँजीगत खर्चले अर्थतन्त्रमा दबाब कायम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

    अब सरकारका लागि राजस्व बढाउने, विकास खर्च कार्यान्वयन गर्ने र स्वदेशमै उत्पादन तथा रोजगारी सिर्जना गर्ने चुनौती प्रमुख बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images