images
images
  • भोटेकोशी बाढी : उद्धारमा हजारौंपटक उडान भरेका हेलिकोप्टरले पाएनन् भुक्तानी, ३० करोड खर्चको अनुमान

    काठमाडौं– गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि पाँच हजार ६२ पटक हेलिकोप्टर उडान गरिएको छ ।

    उक्त कार्यमा निजी र नेपाली सेनाका हेलिकोप्टर परिचालन गर्दा करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धारमा निजी हेलिकोप्टरले दुई हजार ७९४ र नेपाली सेनाले दुई हजार २६८ पटक उडान गरेका थिए ।

    ११ निजी हेलिकोप्टर कम्पनीले १४ करोड रुपैयाँ भुक्तानी दाबी गरे पनि प्राधिकरणको कार्यकारी समितिबाट स्पष्ट निर्णय नहुँदा रकम भुक्तानी हुन सकेको छैन ।
    सेनाको उडान खर्चको दाबी भने अझै प्राप्त भएको छैन ।

    वायुसेवा सञ्चालक संघका अनुसार कैलाश, सिम्रिक, डाइनेस्टी, फिस्टेललगायत कम्पनीले करिब १५ दिनसम्म उद्धार तथा राहतमा सेवा दिएका थिए ।

    संघका अध्यक्ष प्रतापजंग पाण्डेले विपत्का बेला नाफा नलिई सञ्चालन लागतमा हेलिकोप्टर उडाइएको र भुक्तानी नपाउँदा कम्पनीहरूलाई नगद प्रवाहमा समस्या भएको बताए ।

    प्राधिकरणले कम्पनीहरूको बिल तथा कागजात रुजुका लागि नागरिक उड्डयन प्राधिकरणमा पठाएको जनाएको छ ।

    कार्यकारी समितिले नियमअनुसार भुक्तानी गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रिया पूरा नहुँदा रकम निकासा हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images