काठमाडौं- लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेशनल ट्रस्टलाई दान गरिएको छ ।
यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए । त्यसयता यसले ब्रिटिस साम्राज्यको समय, दोस्रो विश्वयुद्धका बेला भएको बमबारी र भवन भत्काएर सडक विस्तार गर्ने योजनासमेत पार गरेको छ ।
परम्परागत बेलायती परिकारका लागि परिचित यस रेस्टुरेन्टमा चार्ल्स डिकेन्स, चार्ली च्याप्लिन, डेभिड बोवी र म्याडोना जस्ता चर्चित व्यक्तित्वले भोजन गरेका थिए । राजा एडवर्ड सातौं पनि आफ्ना प्रेमिकाहरूसँग भेट्न त्यहाँ जाने गरेको इतिहास छ ।
सेन्ट्रल लन्डनको कोभेन्ट गार्डेनस्थित ३४-३५ मेडन लेनमा रहेको चारतले भवनका पछिल्ला चार दशकदेखिका मालिक जेपी मेह्यूले यसलाई नेशनल ट्रस्टलाई दान गर्ने निर्णय गरेका हुन् ।
‘विश्वमा रूल्सजस्ता समयको परीक्षा पार गरेका रेस्टुरेन्ट थोरै छन्’, मेह्यूले बुधबार भने, ‘यस स्थानका इँटा र गारो, प्रसिद्ध भित्री सजावट तथा आँखाले देख्न नसकिने विशेष वातावरणको संरक्षण ट्रस्टले अरू कसैले गर्न नसक्ने गरी गर्नेछ ।’
महत्त्वपूर्ण ऐतिहासिक स्थललाई संरक्षण गर्दै सर्वसाधारणका लागि खुला राख्ने उद्देश्य बोकेको नेशनल ट्रस्टले एक करोड १० लाख पाउन्ड अर्थात् करिब एक करोड ४० लाख अमेरिकी डलर बराबरको दानले भवनको भविष्य सुरक्षित हुने जनाएको छ । ट्रस्टका अनुसार कुनै समय राजा-महाराजाले भोजन गर्ने तथा लेखक र राजनीतिज्ञले योजना बनाउने यो भवनको ऐतिहासिक महत्त्व विशेष छ ।
भवनसँगै रेस्टुरेन्टको इतिहाससँग सम्बन्धित आगन्तुक पुस्तिका, मेनु, कार्टुन, तस्बिर, रङ्गीन सिसा र सङ्केत चिह्नलगायत सामग्री पनि दानमा समावेश छन् । सञ्चालनमा रहिरहने रेस्टुरेन्ट व्यवसायबाट प्राप्त हुने वार्षिक भाडा संरक्षण कार्यमा खर्च गरिनेछ ।
नेशनल ट्रस्टले रूल्सलाई ऐतिहासिक भवन र त्यसको मूल प्रयोग अर्थात् रेस्टुरेन्ट सञ्चालन दुवै कायम रहेको ‘जीवित सम्पदा’ को दुर्लभ उदाहरणका रूपमा वर्णन गरेको छ ।
ट्रस्टका महानिर्देशक हिलारी म्याकग्राडीले यो स्थानलाई जीवित इतिहासको महत्त्वपूर्ण अंश भएको बताए । उनका अनुसार यहाँका कुनाकाप्चाले राजा-महाराजाको भोजन, लेखक तथा राजनीतिज्ञका भेटघाट र युद्ध तथा उथलपुथलबीच पनि कायम रहेको परम्पराको कथा सुनाउँछन् ।
‘आजसम्म यसले अनेक अवरोध पार गरेको छ । रेस्टुरेन्टको ढोका अझै खुला छ र ट्रेकल स्पन्ज नामक मिठाई पनि मेनुमै छ’, म्याकग्राडीले भने ।
रूल्समा प्रवेश गर्दा पुरानो लन्डनको वातावरण अनुभव गर्न सकिने गरी भित्री सजावट भव्य र रङ्गीन छ । यसको मेनुमा स्टेक र किड्नी पाई, गिनी फाउल तथा स्टिकी टफी पुडिङ र स्याउको क्रम्बलजस्ता परम्परागत बेलायती परिकार र मिठाई समावेश छन् । रेस्टुरेन्टमा एकैपटक करिब ९० जनाले भोजन गर्न सक्छन् । नजिकैका थिएटर र सिनेमाघरमा कार्यक्रम हेर्नुअघि वा त्यसपछि यहाँ आउने ग्राहकको सङ्ख्या उल्लेख्य छ ।
रेस्टुरेन्टमा कवि जोन बेटजेम्यानको नाममा एउटा कोठा छ । सन् १९७१ मा लन्डनको तत्कालीन शासकीय निकायले नजिकैको स्ट्र्यान्ड सडक विस्तार गर्ने र त्यस क्रममा रूल्स भत्काउने योजना अघि सारेपछि बेटजेम्यानले यसको ऐतिहासिक वातावरण जोगाउन भावुक अपिल गरेका थिए ।
रेस्टुरेन्टका नियमित ग्राहक तथा लेखक ग्राहम ग्रीनको नाममा पनि एउटा कोठा छ । उनले त्यहाँ जन्मदिनको भोजन गर्नुभएको थियो र आफ्नो उपन्यास ‘द एन्ड अफ द अफेयर’ मा रेस्टुरेन्टलाई समेटेका थिए ।
सन् १९८९ देखि रूल्समा काम गर्दै आएका रेस्टुरेन्टका सञ्चालक रिकी म्याकमनेमी अब नेसनल ट्रस्टको व्यावसायिक भाडावालका रूपमा काम गर्नेछन् ।
‘स्वतन्त्र व्यवसायका रूपमा यस व्यवस्थाले हामीलाई सुरक्षा र मानसिक शान्ति दुवै दिएको छ । हाम्रो घर अब सक्षम हातमा रहनेछ र भविष्यमा पनि सुरक्षित हुनेछ’, उनले भने, ‘ट्रस्टसँग पहिले नै सौहार्दपूर्ण कार्यसम्बन्ध बनिसकेकाले हामी आगामी दुई शताब्दीसम्म पनि यहाँ सेवा जारी रहने अपेक्षा गर्छौं ।’






















