काठमाडौं । फ्रान्समा सामान्यतया पशुचौपायामा पाइने ‘शामोन्डा’ भाइरसबाट मानिस सङ्क्रमित भएको पहिलो घटना पुष्टि भएको छ । सङ्क्रमित बिरामीको निधन भइसकेको छ भने विश्व स्वास्थ्य सङ्गठन र फ्रान्सेली अधिकारीहरूले सर्वसाधारणमा यस भाइरसको थप फैलावट वा स्वास्थ्य जोखिम नरहेको बताएका छन् ।
सङ्क्रमित व्यक्ति फ्रान्सको लियोन क्षेत्रमा बस्ने ६० वर्षका पुरुष रहेको स्थानीय पत्रिकाले प्रोग्रेसले जनाएको छ । उनी अक्टोबरको सुरुमा निधन हुनुअघि अर्कै गम्भीर बिरामीको उपचार गराइरहेका थिए, जसका कारण उनीमा अन्य सर्वसाधारणको तुलनामा सङ्क्रमणको जोखिम उच्च बनेको युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।
पूर्वी फ्रान्समा वसन्त र ग्रीष्म ऋतुका क्रममा पशुहरूमा फैलिएको यो भाइरस बोकेको भुसुनाको टोकाइबाट ती पुरुष सङ्क्रमित भएको आशङ्का गरिएको फ्रान्सेली सरकारले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले हालको जानकारी र यससँग मिल्दोजुल्दा भाइरसको फैलावट सम्बन्धी ज्ञानका आधारमा यो एक पृथक घटना भएको र तत्काल थप व्यापक रूपमा फैलिने सम्भावना नरहेको स्पष्ट पारेको छ । फ्रान्सेली सरकारले पनि सर्वसाधारणको स्वास्थ्यमा कुनै खतरा पहिचान नभएको जनाएको छ ।
विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार शामोन्डा भाइरस मुख्यतया टोक्ने भुसुनामार्फत सर्छ र यो गाईवस्तु, घोडा, अल्पाका, भेडा र बाख्रामा पाइन्छ । सन् १९६० को दशकको मध्यतिर नाइजेरियामा पहिलोपटक पहिचान गरिएको यो भाइरस युरोपमा गत जुलाईको अन्त्यतिर दक्षिणी जर्मनी, स्विट्जरल्यान्ड र पूर्वी फ्रान्सका बिरामी गाईवस्तुको जेनोमिक परीक्षणबाट पुष्टि भएको थियो ।
हाल यो भाइरस अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, इटाली, लिक्टेन्स्टाइन, लक्जेमबर्ग, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, स्पेन र बेलायतको जर्सीलगायत युरोपेली मुलुकहरूका पशुहरूमा पुष्टि भइसकेको छ ।
सङ्क्रमित गाईवस्तुमा पखाला लाग्ने, कमजोरी, भोक नलाग्ने र ज्वरो आउने लक्षण देखिन्छन् । फ्रान्सका नौ वटा दुग्ध फार्महरूमा गरिएको अध्ययनले भाइरसका कारण दूध उत्पादन ७५ प्रतिशतसम्म घटेको देखाएको छ । तथापि, युरोपेली सङ्घको पशु स्वास्थ्य कानुनअन्तर्गत यसलाई औपचारिक अनुगमन वा नियन्त्रणका उपाय अनिवार्य गरिएका रोगहरूको सूचीमा राखिएको छैन ।






















