images
images
  • यूएईले लाना जाकी नुसेबालाई बनायो राष्ट्रसंघ महासचिव उम्मेदवार

    काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ ।

    यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद्का अध्यक्षहरूलाई पत्र पठाउँदै नुसेबाको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् ।

    नुसेबाले सन् २०१३ देखि २०२४ सम्म संयुक्त राष्ट्रसंघमा यूएईको स्थायी प्रतिनिधिका रूपमा काम गरेकी थिइन् । त्यस क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभाको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन् । यसका अतिरिक्त उनी यूएन वुमनको कार्यकारी बोर्डको अध्यक्ष पनि बनेकी थिइन् ।

    नुसेबाले सन् २०२२–२०२३ को कार्यकालमा दुई पटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्षता पनि गरेकी थिइन् ।

    संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार महासचिव नियुक्त गर्ने अधिकार महासभासँग हुन्छ । तर महासचिव नियुक्तिका लागि सुरक्षा परिषद्को सिफारिस अनिवार्य हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images