काठमाडौं- युक्रेनले ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरेको छ जसलाई युक्रेनले उक्त घटना विश्वमै पहिलोपटक भएको दावी गरेको छ ।
युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनमार्फत उद्धार गर्दै गरिएको भिडिओ फुटेज पनि सार्वजनिक गरेको छ ।
जमिनमा रुसी सेना तथा बारुदी सुरुङ भएका कारण भाग्न नसकेका घाइते सेनालाई उद्धार गर्न ड्रोन प्रयोग गरिएको युक्रेनी सेनाको भनाइ छ । कोस्ट्यान्टिन भ्लासेन्को नामका ती युक्रेनी सैनिक ४९१ दिनदेखि सीमामा फसेका थिए ।
उनी पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा तैनाथ थिए, जहाँ रुसी सेनाको आक्रमणको खतरा निरन्तर थियो । भ्लासेन्को र एक सहकर्मी कंक्रिट ड्रेनपाइपमा बनेको लुक्ने ठाउँमा बस्थे । उनीहरू सँगै काम गरिरहेका थिए ।
तर गत फेब्रुअरी १४ मा भ्लासेन्कोका सहकर्मी भने रुसको ड्रोन आक्रमणमा मारिए । भ्लासेन्को पनि विस्फोटक पदार्थको छर्राबाट घाइते भएका थिए । उनका दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । चोट यति गम्भीर थियो कि उनको दाहिने गोडामा ‘ग्याङ्ग्रिन’ (तन्तु वा टिस्यु मर्ने समस्या) फैलियो ।

भ्लासेन्कोलाई तत्काल उपचारको खाँचो थियो । तर घटनास्थलमा पुग्न अत्यन्तै गाह्रो थियो । चारैतिर रुसी सेनाको खतरा थियो । जमिन बारुदी सुरुङले भरिएको थियो भने आकाशमा उडिरहेको ड्रोनले हरक्षण उनको ज्यान जोखिममा थियो । तर उनी न त्यहाँबाट भाग्न सके न त कोही उनीसम्म पुग्न सक्यो । त्यसैले उनलाई बचाउन ड्रोन प्रयोग गरियो ।
‘ग्याङ्ग्रिन’ रोगमा शरीरको प्रभावित भाग सड्न थाल्छ । उपचार नपाएका कारण अवस्था बिग्रँदै गएपछि भ्लासेन्कोले आफैंले आफ्नो खुट्टा काटेर अलग गरे ।
यसबीच युक्रेनी सेनाले उनलाई ड्रोनमार्फत खाना, पानी र औषधि पठाइरह्यो । हरेक चार-पाँच दिनमा उनको आधार नजिकै बाँच्न आवश्यक चिज खसालिन्थ्यो । अनि उनले ती सामान घिस्रिँदै उठाउँथे । गम्भीर घाइते भए पनि यस्तो सहयोगले उनलाई बाँच्न मद्दत गर्यो ।






















