images
images
  • रसिया र युक्रेनबिच ओलेस्कीमा स्थानीय युद्धविरामको सहमति

    एजेन्सी । रसियाको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा चुलिँदै गएको गम्भीर मानवीय सङ्कटलाई सम्बोधन गर्न रसिया र युक्रेन स्थानीय युद्धविरामका लागि सहमत भएका छन् । ह्वाइट हाउसद्वारा जारी वक्तव्य अनुसार दुवै पक्ष अक्टोबर २९ देखि उक्त सहरमा आफ्ना सबै सैन्य कारबाही रोक्न सहमत भएका हुन् ।

    यस स्थानीय युद्धविरामको मुख्य उद्देश्य प्रभावित क्षेत्रमा मानवीय सहायता सामग्री पुर्‍याउनु तथा नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण (इभाकुएसन) गर्ने वातावरण बनाउनु रहेको छ । सहमति अनुसार त्यहाँबाट बाहिरिन चाहने नागरिकहरूले आफ्नो इच्छा अनुसार रसिया वा युक्रेनमध्ये जुनसुकै स्थान रोजेर जान पाउनेछन् । ह्वाइट हाउसका अनुसार यस युद्धविरामको मध्यस्थता मेलानिया ट्रम्पले गरेकी हुन्, जसका प्रतिनिधिले रसियाली र युक्रेनी नेतृत्वसँग प्रत्यक्ष छलफल गरी सर्तहरू तय गरेका थिए ।

    सन् २०२२ को फेब्रुअरीदेखि रसियाली नियन्त्रणमा रहेको दक्षिण युक्रेनी सहर ओलेस्कीमा हाल करिब २,००० नागरिक बाँकी रहेको अनुमान छ । त्यहाँ खाद्यान्न, पिउने पानी र बिजुलीको गम्भीर अभाव भएको छ । कतिपय नागरिकहरू घाँस, सागपात र सीमित रासन खाएर जीवन गुजार्न बाध्य भएको रिपोर्टमा उल्लेख छ। युक्रेनले केही हप्तादेखि नागरिक उद्धारका लागि पहल गर्नुका साथै ड्रोनमार्फत आकस्मिक खाद्यान्न र औषधी खसालेर सहयोग गर्ने प्रयास गर्दै आएको थियो ।

    युद्धविरामको खबर सार्वजनिक भइरहँदा युक्रेनी सेनाले प्रयोग गर्दै आएको ‘स्टारलिंक’ भूउपग्रह सञ्चार नेटवर्कमा भने अझै पनि सुस्तता र प्राविधिक अवरोध कायम रहेको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन् । इन्टरनेटको गतिमा सीमा तोकिएका कारण युक्रेनी ड्रोन सञ्चालन तथा सैन्य सञ्चारमा बाधा पुगिरहेको छ ।

    द गार्डियनका अनुसार कूटनीतिक तहमा वार्ता पुनः सुरु गर्ने प्रयास पनि अघि बढाइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्सको अबु धाबीमा रसिया, युक्रेन र अमेरिकाबिच त्रिस्तरीय वार्ता आयोजना गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images