images
images
  • राष्ट्रसंघको महासचिवमा टर्किएबाट प्रस्तावित भए पूर्वविदेशमन्त्री फेरिदुन

    काठमाडौं– संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्किएले आफ्ना पूर्वविदेशमन्त्री फेरिदुन सिनिरलियोग्लुको नाम प्रस्ताव गरेको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार टर्किएले औपचारिक रूपमा उनको नाम अघि सारेको हो । उनको उम्मेदवारीलाई टर्किएका राष्ट्रपति रेचेप तैयप एर्दोगानको समर्थन रहेको छ ।

    ७० वर्षीय सिनिरलियोग्लु सन् २०१५ मा केही महिनाका लागि टर्किएका विदेशमन्त्री बनेका थिए । त्यसपछि सन् २०१६ देखि २०२३ सम्म उनले संयुक्त राष्ट्रसंघका लागि टर्किएका राजदूतका रूपमा काम गरेका थिए । हाल उनी भियनास्थित युरोपमा सुरक्षा तथा सहयोग संगठनका महासचिव छन् । उनको वर्तमान कार्यकाल सन् २०२७ को डिसेम्बरमा सकिँदैछ ।

    संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको करिब १० वर्षे कार्यकाल पूरा भएपछि नयाँ महासचिव नियुक्त हुनेछन् ।

    इरान, युक्रेन र गाजामा जारी द्वन्द्वका बीच संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला नयाँ महासचिव चयन हुन लागेको हो । आर्थिक सङ्कटका कारण संस्थाले मानवीय सहायता र विकास कार्यक्रमसमेत कटौती गर्नुपरेको छ ।

    संयुक्त राष्ट्रसंघको महासचिव चयनमा १५ सदस्यीय सुरक्षा परिषद्को महत्त्वपूर्ण भूमिका हुन्छ । परिषद्का पाँच स्थायी सदस्य अमेरिका, रुस, चीन, बेलायत र फ्रान्ससँग विषेधाधिकार अर्थात् भिटो प्रयोग गर्ने अधिकार छ । सुरक्षा परिषद्ले सिफारिस गरेपछि संयुक्त राष्ट्रसंघको १९३ सदस्यीय महासभाले अन्तिम स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

    टर्किएका राष्ट्रपति एर्दोगानले लामो समयदेखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् पुनर्संरचनाको माग गर्दै आएका छन् । उनले पाँच स्थायी सदस्यको प्रभाव र वर्चस्वको आलोचना गर्दै आएका छन् । त्यसैले सिनिरलियोग्लुको उम्मेदवारीलाई पनि सुरक्षा परिषद् सुधारको यही मुद्दासँग जोडेर हेरिएको छ ।

    तर उनको उम्मेदवारीको बाटो सहज नहुने देखिएको छ । टर्किएको छिमेकी मुलुक ग्रिसले उनको उम्मेदवारीप्रति असहमति जनाउन सक्ने अनुमान गरिएको छ । ग्रिस हाल सुरक्षा परिषद्को निर्वाचित सदस्य हो । यसैगरी इजरायलबाट पनि विरोध हुन सक्ने सम्भावना औंल्याइएको छ ।

    गुटेरेसको स्थान लिन सिनिरलियोग्लुसहित अन्य ७ जना प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images