images
images
  • इनमसँग न्यायमूर्तिहरुको कनेक्सनले ठप्प संवैधानिक इजलास

    काठमाडौं– इनम सापकोटा प्रकरणपछि दुई सातादेखि संवैधानिक इजलास ठप्प छ । हरेक बुधबार बस्ने संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा बस्ने गर्छ । तर प्रधानन्यायाधीश र न्यायाधीशहरुको नाम इनम सापकोटोसँग जोडिएर आएपछि यो इजलास बस्न सकेको छैन ।

    प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयाल समेतसँग मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विषय बाहिरिएका थिए । म्यासेज बाहिरिएपछि न्यायाधीश फुयालले इनमसँग भेटेको पनि स्वीकार गरेका छन् ।

    उनले अरु न्यायाधीशहरुले पनि भेटेको बताएका थिए । तर लेनदेन गरेर मुद्दाको आदेश गरेको भने उनले अस्वीकार गरेका छन् । अरु न्यायाधीश को को थिए भन्नेबारेमा उनले केही खोलेका छैनन् ।

    सापकोटाले म्यासेजमा प्रधानन्यायाधीश शर्माको पनि नाम लिएका थिए । शर्मा भने आफ्नो नाम जोडिनासाथ मुद्दाको सुनुवाइमा सहभागी भएका छैनन् । प्रधानन्यायाधीश अरु इजलासमा बसेका छैनन् भने उनकै नेतृत्वमा हुने संवैधानिक इजलासमा पनि बसेका छैनन् ।

    पछिल्लो पटक असोज २१ गते न्यायाधीश फुयाललाई राखेर इजलास गठन गरिएको थियो । तर त्यो दिन न्यायाधीश फुयालका कारण इजलास बस्न सकेन । इजलास गठनको प्रक्रियामा प्रश्न गर्दै फुयाल इजलासमा बस्न मानेका छैनन् । त्यसपछि भने इजलास नै बस्न सकेको छैन ।

    अहिले प्रश्नको घेरामा परेपछि न्यायाधीश फुयाल बिदामा छन् । उनले यो एक साता बिदा लिएका छन् । उनले बिदा लिएपछि उनले पोलेका अरु न्यायाधीशहरु भने अन्योलमा रहेको बुझिएको छ । त्यसपछि तिहार बिदा सुरु हुन्छ ।

    प्रधानन्यायाधीश र न्यायाधीशहरूले भने सापकोटासँगको कनेक्सन अस्वीकार गरेका छन् । सापकोटालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images