images
images
  • एम्ब्रेयरसँग १०० विमान खरिद गर्दै भारतको इन्डिगो एयरलाइन्स

    काठमाडौं– भारतको सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी इन्डिगोले ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयरसँग १०० वटा क्षेत्रीय विमान खरिद गर्ने विषयमा प्रारम्भिक चरणको वार्ता गरिरहेको बताइएको छ । यसबाहेक थप करिब ५० वटा विमान खरिद गर्न सक्ने विकल्पसमेत छलफलमा रहेको बुझिएको छ ।

    यो सम्झौता भएमा ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयरसँग हुने व्यावसायिक विमान खरिदका ठूला अर्डरमध्ये एक हुन सक्नेछ ।

    रोयटर्सका अनुसार इन्डिगो र एम्ब्रेयरले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    एम्ब्रेयरले भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूलाई आफ्ना क्षेत्रीय विमान बिक्री गर्न प्रयास गरिरहेको छ । यसै वर्ष कम्पनीले अदानी डिफेन्स एन्ड एयरोस्पेससँग भारतमै आफ्नो ई १७५ विमानको अन्तिम एसेम्बली लाइन स्थापना गर्ने सम्भावनाबारे अध्ययन गर्न गैरबाध्यकारी सम्झौता गरेको थियो । ई १७५ विमानमा ८८ जनासम्म यात्रु अटाउन सक्छन् ।

    एम्ब्रेयरले यसबाहेक ठूला आकारका ई १९०–ई २ र ई १९५–ई २ विमान पनि उत्पादन गर्छ । यी विमानमा क्रमशः ११४ र १४६ जनासम्म यात्रु अटाउन सक्छन् ।

    रोयटर्सका अनुसार इन्डिगो र एम्ब्रेयरबीचको सम्भावित सम्झौता निश्चित भइसकेको छैन । विमानको मोडल र खरिद गरिने संख्यासमेत अन्तिम टुङ्गोमा नपुगेको वार्ताबारे जानकारी राख्ने दुई व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् ।

    उनीहरूका अनुसार विमानको आपूर्ति सन् २०३० वा त्यसपछि सुरु हुने सम्भावना छ।

    इन्डिगो र एम्ब्रेयरबीच विमान खरिदबारे छलफल भइरहेको समाचार यसअघि पनि सार्वजनिक भएका थिए । तर खरिदका लागि विचाराधीन विमानको संख्या र थप विमान खरिद गर्ने विकल्पबारे पहिलो पटक रोयटर्सले खुलासा गरेको हो ।

    सम्झौता भएमा १०० वटा विमानको मात्रै सूची मूल्य अर्बौं अमेरिकी डलर पुग्न सक्नेछ । यद्यपि यस्ता ठूला विमान खरिद सम्झौतामा सूची मूल्यभन्दा कममा कारोबार हुने अर्थात् छुट दिइने अभ्यास सामान्य मानिने रोयटर्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images