images
images
  • अमेरिकी मध्यावधि निर्वाचनबारे इरानी सर्वोच्च नेताको दावी- नेतृत्व परिवर्तनले इरानप्रतिको अमेरिकाको शत्रुता बदलिन्न

    काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकामा हुने राजनीतिक नेतृत्व परिवर्तनले इरानप्रतिको अमेरिकी शत्रुतामा कुनै परिवर्तन नआउने बताएका छन् ।

    इरानको ‘विश्व अहंकारविरुद्ध संघर्ष दिवस’ का अवसरमा जारी सन्देशमा उनले अमेरिकामाथि विश्वास गर्न नसकिने बताएका हुन् ।

    खामेनीले अमेरिकी राजनीतिक दल वा नेतृत्व परिवर्तन हुँदैमा अमेरिकाको व्यवहार परिवर्तन हुन्छ भन्ने आशा राख्नु गलत हुने स्पष्ट पारे ।

    अमेरिकासँग सम्झौता गरेर वा उसलाई छुट दिएर इरानी जनताप्रतिको शत्रुता अन्त्य गर्न सकिन्छ भन्ने सोच पनि भ्रमपूर्ण रहेको उनको भनाइ छ। अमेरिकाले इरानको निःसर्त आत्मसमर्पण चाहेको बताउँदै उनले अमेरिकासमक्ष झुक्दा थप आक्रमणलाई प्रोत्साहन मिल्ने चेतावनी दिए ।

    उनले भने, ‘अहंकारी शत्रुसमक्ष आत्मसमर्पण गर्ने थोरै मात्र सोचले पनि अहिलेसम्म हासिल गरेका ठूला उपलब्धिहरू गुम्न सक्छन् ।’

    नेता खामेनीले अमेरिकाले आफ्नो देशमाथि पुनः सैन्य आक्रमण गरे त्यसको जवाफ अझ व्यापक हुने चेतावनी पनि दिए ।

    मध्यपूर्वमा इरानसँग सम्बन्धित सशस्त्र समूहहरूको प्रशंसा गर्दै उनले स्ट्रेट अफ हर्मुजमाथि इरानको नियन्त्रण र क्षेत्रीय अमेरिकी सैन्य अखडामाथि गरिएका आक्रमणलाई अमेरिकाले गरेको सैन्य कारबाहीको जवाफका रूपमा व्याख्या गरे ।

    उनले अमेरिकाले फेरि त्यस्ता आक्रमण दोहोर्‍याए त्यसको परिणाम अझ ठूलो हुने बताए । ‘यदि यस्ता आक्रमण फेरि दोहोरिए भने त्यसको जवाफ अझ व्यापक हुनेछ’, उनले भने।

    खामेनीले प्यालेस्टाइन, लेबनान, इराक र यमनमा सक्रिय समूहहरूलाई ‘प्रतिरोध मोर्चा’ को संज्ञा दिँदै उनीहरूको गतिविधिको प्रशंसा गरे । ती समूहहरूले देखाएको साहस र क्षमताले अमेरिकी सैन्य शक्तिको सीमितता उजागर गरेको उनको दाबी थियो ।

    उनले इरानको रक्षा क्षमता थप मजबुत बनाउनुपर्नेमा जोड दिँदै देशको समग्र विकासलाई निरन्तरता दिनुपर्ने बताए । खामेनीका अनुसार पूर्ण प्रतिरोधात्मक क्षमता हासिल गर्ने एकमात्र उपाय बलियो इरान निर्माणको रणनीतिलाई निरन्तर अघि बढाउनु हो ।

    उनले भने, ‘पूर्ण प्रतिरोधात्मक क्षमता हासिल गर्ने एकमात्र उपाय व्यापक विकासमार्फत निरन्तर अझ बलियो इरान निर्माण गर्नु हो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images