काठमाडौं– विश्लेषक मोहम्मद एस्लामीले अमेरिकाको मध्यावधि निर्वाचनको नतिजालाई स्ट्रेट अफ होर्मुज हुँदै हुने जलयातायातमा प्रतिबन्ध लगाएर वासिङ्टनमाथि दबाब सिर्जना गर्ने इरानको रणनीतिको ‘विजय’को रूपमा व्याख्या गरेका छन् ।
एस्लामीले अलजजिरासँग कुरा गर्दै युद्धका कारण मूल्यवृद्धि हुनु र त्यसले अमेरिकी अर्थतन्त्रमा पारेको प्रभावले अमेरिकी मतदातामा असन्तुष्टि बढाएको बताए ।
तेहरान विश्वविद्यालयको मध्यपूर्व तथा उत्तर अफ्रिकी अध्ययन विभागका अनुसन्धानकर्ता एस्लामीले भने, ‘यो इरानी सरकारका लागि निकै ठूलो कुरा हो। यो एक प्रकारको विजय हो ।’
उनका अनुसार इरानविरुद्धको युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी नागरिकको हितलाई बेवास्ता गरेकोप्रति सर्वसाधारण अमेरिकी खुसी छैनन् भन्ने स्पष्ट भएको छ ।
उनले अमेरिकी संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण बढ्दा ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना हुन सक्ने र युद्धका लागि आवश्यक बजेट रोक्ने वा सीमित गर्ने अवस्था आउन सक्ने बताए ।
एस्लामीले भने, ‘यो लापरवाह युद्धका लागि बजेटमा प्रतिबन्ध लगाउने प्रक्रिया उनीहरूले जनवरीमा अघि बढाउनेछन् । त्यसैले हामी जनवरीसम्म पर्खनेछौं ।’
उनले इरानको मुख्य प्राथमिकता अमेरिकी आन्तरिक राजनीतिलाई प्रभावित पार्नु नभई आफ्ना नागरिकको सुरक्षा गर्नु र क्षेत्रीय द्वन्द्वलाई थप फैलिनबाट रोक्नु रहेको पनि स्पष्ट पारे ।
उनका अनुसार निर्वाचनको नतिजालाई इरानी सरकारले आफ्नो रणनीतिको एक प्रकारको सफलताका रूपमा लिएको छ । तेहरानले आफ्नो रणनीतिले अमेरिकी राजनीतिमा पार्न सक्ने प्रभावको पूर्वानुमान गरेको उनको भनाइ छ ।




















