काठमाडौं– बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ ।
सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ ।
गार्मेन्ट क्षेत्रमा ४० लाखभन्दा बढी मानिस कार्यरत छन् । तर न्यून तलब, कमजोर कार्य वातावरण र श्रमिक अधिकारसम्बन्धी लामो समयदेखिका विवादले यस क्षेत्रको विकासमा चुनौती थप्दै आएका छन् ।
गत शनिबारदेखि हजारौं गार्मेन्ट कामदार तलब वृद्धिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केहीले इँटा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।
ज्याला बोर्डमा कामदारका प्रतिनिधि बाबुल अख्तरले कामदारहरूले डिसेम्बरभित्रै तलब वृद्धि गर्ने निर्णय गर्न माग गरेको बताए । यसो भए जनवरीदेखि परिमार्जित तलब पाउन सकिने उनको भनाइ छ ।
‘ज्याला बोर्डमा रहेका कारखाना मालिकका प्रतिनिधि पनि यसमा सहमत भएका छन् । हामी यस विषयमा सहमतिमा पुगेका छौं र मिलेर काम गरिरहेका छौं’, उनले भने ।
बङ्गलादेशमा मुद्रास्फीति आठ प्रतिशतको हाराहारीमा रहेकाले खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको मूल्यवृद्धिले कामदारको क्रयशक्ति घटाएको छ ।
कामदारहरूले हालको मासिक न्यूनतम तलब १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु¥याउन माग गरेका छन् । यो हालको न्यूनतम तलबभन्दा १४० प्रतिशत बढी हो ।
सरकारले तलब वृद्धिसम्बन्धी विषयमा वार्ता गर्न रोजगारदाता र कामदारका प्रतिनिधि सम्मिलित ज्याला बोर्ड आइतबार गठन गरेको थियो । यद्यपि तलब कति बढाउने भन्नेबारे सहमति भइसकेको छैन ।
बोर्डमा बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) का प्रतिनिधि एबीएम शम्सुद्दिनले डिसेम्बरभित्रै बोर्डले आफ्नो काम पूरा गर्ने बताए ।
‘कामदारहरूले जनवरीसम्ममा बढेको तलब पाउन सकून् भन्ने उद्देश्यले हामी डिसेम्बरभित्रै प्रक्रिया पूरा गर्नेछौं’, उनले भने ।
बङ्गलादेशको गार्मेन्ट उद्योगले मुलुकको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । यस क्षेत्रको वार्षिक निर्यात मूल्य ३८ अर्ब अमेरिकी डलर रहेको छ ।
यस उद्योगको सबैभन्दा ठूलो एकल बजार संयुक्त राज्य अमेरिका हो भने युरोपेली सङ्घ सबैभन्दा ठूलो व्यापारिक समूह हो । बङ्गलादेशका कामदारले फ्रुट अफ द लुम, लेवी स्ट्रस र भीएफ कर्पलगायत कम्पनीका लागि कपडा उत्पादन गर्छन् । ती कम्पनीका प्रमुख ब्रान्डमा भ्यान्स, टिम्बरल्यान्ड र द नर्थ फेस रहेका छन् ।
बुधबार ज्याला बोर्डमा वार्ता भइरहँदा गाजीपुर, मिरपुर, नारायणगञ्ज र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा प्रदर्शन जारी थियो ।
नारायणगञ्जका औद्योगिक प्रहरी अधीक्षक अब्दुल्लाह अल महमूदका अनुसार प्रदर्शनकारीहरूले केही कारखानामा तोडफोड गर्नुका साथै अन्य कामदारलाई पनि हडतालमा सहभागी हुन आग्रह गरेका थिए ।
‘हामी उनीहरूलाई कुनै पनि स्थानमा नाकाबन्दी गर्न दिने छैनौं’, उनले पत्रकारहरूसँग भने ।
गाजीपुरका औद्योगिक प्रहरी अधीक्षक अमजद हुसेनले त्यहाँको अवस्था तनावपूर्ण रहेको बताए ।



















