images
images
  • अमेरिकी चुनावमा ४३ अर्ब खर्च गरेका एलन मस्कको व्यंग्य- यस पटक मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन्

    काठमाडौं– अमेरिकी मध्यावधि निर्वाचनको नतिजामा अर्बपति व्यवसायी एलन मस्कको भूमिकालाई लिएर पनि चर्चा भइरहेको छ ।

    ओपनसिक्रेट्सले अमेरिकी चुनावी चन्दासम्बन्धी दस्तावेजहरूको विश्लेषण गर्दै सार्वजनिक गरेको विवरणअनुसार मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार र रूढिवादी विचारधारा बोकेका संस्थाहरूलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब ४३ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

    यो कुनै एक व्यक्तिले चुनावी अभियानमा खर्च गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।

    टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा मात्रै २० करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका थिए । तर ठूलो रकम खर्च गरेर समर्थन गरे पनि प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भए ।

    केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा सारेका थिए ।

    निर्वाचनमा जित हासिल गरेपछि दिएको सम्बोधनमा तालारिकोले आफ्ना समर्थकहरूलाई भने, ‘हामीले यो राज्य र देशका प्रत्येक अर्बपति दातालाई, प्रत्येक खर्बपति दातालाई र खराब राजनीतिक व्यवस्थाको संरक्षण गर्ने भ्रष्ट व्यक्तिहरूलाई एउटा सन्देश दिएका छौं- सत्ता जनताको हातमा छ ।’

    यसअघि सामाजिक सञ्जाल एक्समा लामो समयसम्म मौन बसेका मस्कले पोस्ट गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए, ‘लाग्छ, यस पटकको चुनावमा हस्तक्षेप गर्न प्रयोग गरेका मेरा अन्तरिक्ष लेजरहरूले काम गरेनन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images