काठमाडौं – कुनै समय टायरानोसोरस रेक्स (टी–रेक्स) को बच्चा मानिएको तर पछि छुट्टै प्रजातिको डायनासोरका रूपमा पहिचान गरिएको नानोटाइरान्नसको कङ्काल अमेरिकाको न्युयोर्कमा लिलामी हुँदैछ। ‘जोडी’ उपनाम दिइएको उक्त कङ्कालको न्यूनतम मूल्य ६० लाख अमेरिकी डलर तोकिएको छ। लिलामीमा यसको मूल्य ९० लाख डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
न्युयोर्कस्थित सोथेबीज लिलामी गृहले मंगलबार उक्त कङ्काल बिक्रीमा राख्दैछ । करिब ३ मिटर अग्लो यस कङ्कालमा लगभग १९१ वटा जीवाश्म हड्डीका टुक्रा छन् । यसको खप्पर पनि लगभग पूर्ण र राम्रो अवस्थामा सुरक्षित रहेको सोथेबीजले जनाएको छ ।
लेट क्रिटेसियस कालमा बाँच्ने यो मांसाहारी डायनासोरको कङ्काललाई अनुसन्धानकर्ताहरूले गत वर्ष मात्रै छुट्टै प्रजातिका रूपमा पुष्टि गरेका थिए । सोथेबीजका अनुसार नानोटाइरान्नसका वैज्ञानिक रूपमा ज्ञात तीन नमुनामध्ये ‘जोडी’ एक हो। प्रजातिको अस्तित्व पुष्टि भएपछि बजारमा लिलामीका लागि राखिएको यो पहिलो नमुना भएको लिलामी गृहको भनाइ छ ।
यसअघि जुलाईमा सोथेबीजले ‘गस’ नाम दिइएको टायरानोसोरस रेक्सको कङ्काल ५ करोड १० लाख डलरमा बिक्री गरेको थियो । उक्त बिक्रीले डायनासोरको कङ्कालका लागि कीर्तिमानी मूल्य कायम गरेको थियो । ‘जोडी’ को लिलामी भने जीवाश्मलाई निजी स्वामित्वमा बिक्री गर्नु उचित हुन्छ कि हुँदैन भन्ने बहस चर्किएका बेला हुन लागेको छ ।






















