काठमाडौं – सडक किनारका जीर्ण विद्युत् पोल, जथाभावी गुजुल्टिएका तार र लत्रिएका केबलले कुरूप देखिने पोखराका मुख्य सहरी क्षेत्रको स्वरूप फेरिन थालेको छ । विद्युत्, टेलिफोन, केबल र इन्टरनेटका तार भूमिगत गरिएपछि सडक खुला देखिन थालेका छन् भने सहरी सौन्दर्यसँगै विद्युतीय तथा सवारी दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा भूमिगत तार बिछ्याउने काम गरिरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार पोखरामा २२३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने लक्ष्य रहेकामा हालसम्म १६५.७ किलोमिटर तार बिछ्याइएको छ । त्यसमध्ये ५५.२ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाहसमेत भइसकेको छ ।
आयोजनाको पोखरातर्फको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । आगामी वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए । उनका अनुसार भूमिगत प्रणालीमार्फत करिब ६ हजार घरमा विद्युत् सेवा पुर्याइनेछ ।
पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक र सेती पुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने ४०० भन्दा बढी घरमा भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन भइसकेको छ । सेती पुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड जोड्ने मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भएको सुवेदीले बताए ।
लेकसाइडका भित्री सडकमा तार बिछ्याउने काम सकिएको छ भने केही स्थानमा विद्युत् जोड्न बाँकी छ । सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा र सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडको तालबाराही मन्दिरतर्फ जाने सडकका केही खण्डमा अहिले तार बिछ्याउने काम भइरहेको छ ।
सेती पुल निर्माणाधीन रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न नसकिएको आयोजनाले जनाएको छ । पुल निर्माण अन्तिम चरणमा पुगेकाले बाँकी क्षेत्रमा पनि छिट्टै भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन हुने सुवेदीको भनाइ छ ।
आयोजनाले मुख्य राजमार्गसँगै सहायक सडकमा पनि तार भूमिगत गरिरहेको छ । विद्युत्का तारसँगै टेलिफोन, केबल र इन्टरनेट सेवा प्रदायकका लागि अप्टिकल फाइबरसमेत बिछ्याइएको छ । यसअघि सडक तथा पोलमा रहेका ओभरहेड तार हटाइएको सुवेदीले बताए ।
पहिलो चरणमा पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने स्थानलाई प्राथमिकता दिइएको छ । भूमिगत तार बिछ्याउने तथा वितरण प्रणाली सुदृढीकरणका लागि पोखरामा एक अर्ब ७० करोड रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। सडकमा ठूलो क्षति नपुर्याई तार बिछ्याउन ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरिएको छ ।
दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सन् २०२२ को जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले निर्माणको ठेक्का पाएको थियो। तर, त्यसको १५ महिनापछि मात्रै पोखरामा तार बिछ्याउने काम सुरु भएको थियो। इन्जिनियरिङ डिजाइन तथा उपकरण खरिदमा समय लाग्नुका साथै निर्माण कम्पनीको ढिलासुस्तीले आयोजना प्रभावित भएको सुवेदीले बताए ।
भूमिगत तार र वितरण प्रणालीको सुधारले सहरी सौन्दर्यमा मात्रै नभई सुरक्षामा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ। जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाका अनुसार अव्यवस्थित पोल र तारका कारण सवारीसाधन ठोक्किने तथा करेन्ट लाग्ने जस्ता दुर्घटना हुने गरेका छन् ।
“अव्यवस्थित तार र पोल हटाउँदा विद्युतीय दुर्घटनामात्र नभएर सवारी दुर्घटनाको जोखिम पनि घट्छ,” देवकोटाले भने। पोखरा सहरभरि नै विद्युत् तार भूमिगत गर्न सके दुर्घटनाको जोखिम घटाउन थप सहयोग पुग्ने उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार उपत्यकाभर रहेका पुराना पोल र तार विस्थापन गर्न ठूलो बजेट आवश्यक पर्छ । चार दशकअघिका विद्युत् लाइनसमेत विस्थापित गरी नयाँ प्रणाली जडान गर्नुपर्ने अवस्था छ। पोखराका सबै क्षेत्रमा तार भूमिगत गर्न पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरमा १५६।३३ किलोमिटर क्षेत्रमा तार भूमिगत गरिएको छ। त्यहाँको भौतिक प्रगति ९५ प्रतिशत पुगेको सुवेदीले जानकारी दिए। पोखरा र भरतपुर दुवैलाई समेटिएको आयोजनाको समग्र भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ ।
भूमिगत तार प्रणाली बढी क्षमतायुक्त र भरपर्दो मानिन्छ। ग्राहकको बढ्दो माग तथा विद्युत् खपतको चाप व्यवस्थापन गर्न यो प्रणाली उपयोगी हुने प्राधिकरणको भनाइ छ । यद्यपि, यसको लागत उच्च भएकाले पोखराका अन्य क्षेत्रमा विस्तार गर्न लगानी र प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने सुवेदीले बताए ।






















