काठमाडौं – देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुनसक्ने सम्भावना छ । नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनलाई उद्धृत गर्दै विभागले वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने जनाएको छ ।
प्रतिकूल मौसमका कारण पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुनसक्ने भएकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न विभागले अनुरोध गरेको हो । हिमाली क्षेत्रमा पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन र आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन पनि विभागले आग्रह गरेको छ ।
यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ ।






















