images
images
  • शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन

    काठमाडौं – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिएको छ ।

    इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्ण पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गरेको हो ।

    इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियमावलीमा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए । जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै विभिन्न माध्यमबाट गुनासा प्राप्त भएपछि यस विषयमा ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

    “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना सबैले गर्नुपर्छ,” पोखरेलले भने ।

    इकाईले शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१० को खण्ड( (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै कानुनी प्रावधान पालना गर्न आग्रह गरेको छ ।

    निर्देशनमा उल्लेख भएअनुसार नेपाल सरकार र नेपाली जनतासँगको सम्बन्धमा खलल पार्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको छ ।

    त्यस्तै, शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images