images
images
  • नेपाल आउँदै जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर

    काठमाडौं– जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर नेपाल आउँदै छिन् ।

    नेपालमा रहँदा राज्यसचिव कोफ्लरले जर्मनी–नेपाल सहकार्यको विस्तृत जानकारी लिनुका साथै महिला अधिकार र स्वास्थ्य तथा भोटेकोशी बाढीको प्रभावसम्बन्धी विषयमा ध्यान केन्द्रित गर्ने नेपालस्थित जर्मनी दूतावासले जनाएको छ ।

    उनले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरी जर्मनी र नेपालबीचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गर्नेछिन् ।

    जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग तत्काल मानवीय सहायता सञ्चालनका साथै प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहयोगमा खर्च गरिनेछ ।

    बाढीका परिणाम र प्रभावित क्षेत्रको मानवीय अवस्थाबारे जानकारी लिन राज्यसचिव कोफ्लरले नुवाकोटको भ्रमण गर्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग अन्तरक्रिया गरी स्थलगत रूपमा मानवीय सहायता र पुनःस्थापनाका आवश्यकताबारे जानकारीसमेत लिनेछिन् ।

    राज्यसचिव कोफ्लरले काठमाडौंमा जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गर्ने बताइएको छ ।

    त्यस्तै गत वर्ष भएको जेनजी आन्दोलन तथा नेपालमा सङ्क्रमणकालीन न्यायका विषय पनि उनले छलफल गर्ने बुझिएको छ ।

    राज्यसचिव कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य छिन् । उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन् ।

    यसअघि सन् २०२२ मा उनले नेपालको भ्रमण गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images