images
images
  • आमादब्लम हिमालको क्याम्प ३ बाट बेपत्ता जर्मन पर्वतारोही मृत फेला

    काठमाडौं– आमादब्लम हिमालको शिखरमा सफल आरोहण गरेको भोलिपल्ट सोमबार एक जर्मन पर्वतारोही करिब १,५०० मिटर तल खसेर ज्यान गुमाएका छन् ।

    एक ट्रेकिङ कम्पनीका सञ्चालकले यो जानकारी दिएका हुन् । सो कम्पनीका अनुसार ५७ वर्षीय उल्फगाङ वासिचेक करिब ६,२०० मिटरको उचाइमा रहेको क्याम्प ३ बाट बेपत्ता भएका थिए । उनी आइतबार ६,८१२ मिटर अग्लो शिखरमा सफल आरोहण गरी फर्किने तयारीस्वरूप क्याम्प ३ मा आराम गरिरहेका थिए ।

    ‘सफल शिखर आरोहणपछि उनले आइतबार क्याम्प ३ मा बिताएका थिए र सोमबार बिहान उनका गाइडले उनलाई बेपत्ता पाए’, रियल हिमालय ट्रेकिङ कम्पनीका प्रमुख गोकुल थापाले भने ।

    थापाका अनुसार वासिचेकका व्यक्तिगत ट्रेकिङ गाइड सोनाम लामाले सापटी लिएका सरसामान फिर्ता गर्न जाँदा उनलाई पालभित्रै बस्न भनेका थिए । तर केही बेरपछि फर्केर हेर्दा वासिचेक त्यहाँ थिएनन् र उनी बेपत्ता भइसकेका थिए ।

    वासिचेकको शव सोमबार बिहान करिब ८ बजे क्याम्प २ क्षेत्र (करिब ४,६०० मिटर उचाइ) मा अर्का शेर्पाले देखेका थिए । त्यसपछि उनको शव दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको थियो । लुक्लाबाट शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

    थापाले भने, ‘पोस्टमार्टम प्रक्रिया पूरा भएपछि राजदूतावासमार्फत शव उनका परिवारजनलाई बुझाइनेछ ।’

    उनका अनुसार वासिचेकको यो दोस्रो नेपाल भ्रमण थियो । उनी सन् २०२४ मा ट्रेकिङका लागि नेपाल आएका थिए ।

    खुम्बु क्षेत्रमा अवस्थित आमादब्लम हिमाल ठाडो र प्राविधिक रूपमा कठिन हिमाल मानिन्छ। यस वर्ष यस हिमालमा यो पहिलो मानवीय क्षति हो।

    गत वर्षको अक्टोबरमा पनि त्यहाँ दुई पर्वतारोही ६५ वर्षीय फ्रेन्च र ६६ वर्षीय दक्षिण कोरियाली नागरिकको आरोहणका क्रममा मृत्यु भएको थियो । यस वर्षको शरद ऋतुको पर्वतारोहण मौसममा ३०० भन्दा बढी पर्वतारोहीले आमादब्लम आरोहणको प्रयास गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images