images
images
  • जलवायुजन्य विपद् न्यूनीकरण क्षेत्रीय सहकार्य र तथ्याङ्क आदानप्रदानमा मन्त्री श्रेष्ठको जोड

    काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जना हुने जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

    थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तन तथा भू–विपद्को सामना गर्न प्रविधिको उपयोग र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।

    संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (इएससीएपी) द्वारा आयोजित सम्मेलनमा बुधबार बिहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले हालै लाङटाङस्थित लिरुङमा गएको हिमपहिरो तथा बूढीगण्डकी क्षेत्रमा भएको पहिरोबाट सिर्जित विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा परेको असरबारे सहभागीहरूको ध्यानाकर्षण गराए ।

    उनले द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्बाट भएको क्षति करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिए ।

    मन्त्री श्रेष्ठले बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्कको साझेदारी, पूर्वसूचना प्रणाली तथा प्राविधिक सहयोगलाई थप सुदृढ बनाउन आग्रह गरे । उनले यी उपायले जलवायुजन्य विपद्को जोखिम पहिचान, पूर्वतयारी र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

    नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान नगण्य अर्थात् ०.०१ प्रतिशत रहे पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको संरक्षण गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए ।

    सम्मेलनका अवसरमा बिहीबार, अक्टोबर २९ मा नेपाल र इएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्मः भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवादसमेत आयोजना हुने जानकारी मन्त्री श्रेष्ठले सहभागीहरूलाई गराए । उक्त संवादमा विपद्का अनुभव र सिकाइका आधारमा क्षेत्रीय सहकार्य तथा जोखिम न्यूनीकरणका उपायबारे छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images