images
images
  • तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको व्यापार बढ्यो

    काठमाडौं – तिहार र छठ पर्व नजिकिँदै जाँदा राजविराज बजारमा माटो र बाँसबाट बनेका सामग्रीको माग बढेको छ । पर्वमा पूजाआजाका लागि यस्ता सामग्री आवश्यक पर्ने भएकाले स्थानीय बजारमा तिनको कारोबार बढेको हो ।

    तिहारमा प्रयोग गरिने माटोका दियो, कलश र घैला तथा छठ पर्वमा आवश्यक पर्ने बाँसका कोनिया, नाङ्लो र ढाकीलगायत सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताए ।

    “बाँसका सामग्री बेच्न थालेको एक दशक भयो। अन्य समयमा व्यापार ठिकै हुन्छ, तर दसैँदेखि छठसम्म राम्रो व्यापार हुन्छ,” उनले भने । अन्य समयमा दैनिक करिब एक हजार रुपैयाँको कारोबार हुने गरेकोमा दसैँदेखि तिहारसम्म कारोबार दोब्बर हुने गरेको उनको भनाइ छ ।

    विवाह, व्रतबन्ध, मृत्यु संस्कार तथा घरमा गरिने पूजाआजामा समेत माटो र बाँसका सामग्री प्रयोग हुने भए पनि दैनिक रूपमा तिनको आवश्यकता नपर्ने भएकाले अन्य समयमा व्यापार सीमित हुने गरेको छ । तर तिहार र छठ मधेसमा विशेष महत्त्वका साथ मनाइने पर्व भएकाले यस समयमा यस्ता सामग्री किन्नुपर्ने बाध्यता रहेको राजविराज नगरपालिका–२ की ममता झाले बताए ।

    मधेसका विभिन्न चाडपर्व तथा पूजाआजामा माटोका भाँडाकुँडा र बाँसका सामग्री आवश्यक पर्ने भएकाले पर्वको मौसममा तिनको व्यापार बढ्ने गरेको उहाँको भनाइ छ ।

    जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक ९डोम० समुदायले उत्पादन गरेका बाँसका सामग्रीले बजार पाउँदा स्थानीय उत्पादन र लगानी स्थानीयस्तरमै रहने राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए ।

    स्थानीयस्तरमै उत्पादित सामग्रीको खरिदबिक्री हुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ । जिल्लावासीले माटो र बाँसका सामग्री खरिद गर्न अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images