काठमाडौं – तिहार नजिकिँदै गर्दा झापाका व्यावसायिक फूल उत्पादक किसानले भारतीय फूलको आयात रोक्न माग गरेका छन् । स्थानीय उत्पादनले बजार नपाएर बोटमै खेर जाने अवस्था आउन थालेको भन्दै किसानले स्वदेशी सयपत्री फूललाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरेका हुन् ।
जिल्लामा पछिल्ला वर्षमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । किसानले लाखौँ रुपैयाँ लगानी गरेर खेती गर्दै आए पनि भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले उचित बजार र मूल्य नपाएको गुनासो गरेका छन् । स्वदेशी उत्पादनले स्थानीय माग धान्न सक्ने अवस्था रहेको दाबी गर्दै उनीहरूले आयात नियन्त्रणका लागि नीतिगत पहल गर्न माग गरेका छन् ।
विर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ । मागपत्रमा स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ ।
किसान पौडेलका अनुसार स्थानीय किसानले ठूलो मेहनत र लगानी गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा आर्थिक क्षति बेहोर्नुपरेको छ। भारतीय फूलको आयातका कारण स्वदेशी उत्पादन बिक्री हुन नसक्ने अवस्था आउन नदिन राज्यले समयमै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। उहाँहरूले स्वदेशी उत्पादनको संरक्षण र किसानको लगानी सुरक्षित गर्न भारतबाट हुने फूलको आयात रोक्न नीतिगत व्यवस्था गर्न प्रशासनसमक्ष माग राखेका छन् ।
झापामा हाल १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको किसानहरूको भनाइ छ। विर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा फूलखेती विस्तार भएको छ। यस व्यवसायले स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गरे पनि बजारको अनिश्चितताले किसानलाई चिन्तित बनाएको छ ।
किसानका अनुसार फूलखेतीमा जग्गा, मल, सिँचाइ, श्रम र अन्य सामग्रीमा खर्च गर्नुपर्छ। तर, फूल बिक्री गर्ने समयमा बजार नपाए उत्पादन बोटमै खेर जाने जोखिम हुन्छ। विशेषगरी तिहारजस्ता पर्वमा फूलको माग बढ्ने भए पनि आयातित फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा स्थानीय किसानले उचित मूल्य पाउन कठिन हुने गरेको उनीहरूको गुनासो छ ।
किसानले भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्न सीमा र भन्सारमा प्रभावकारी अनुगमन गर्न पनि माग गरेका छन् । त्यसैगरी स्थानीय उत्पादनले न्यायोचित मूल्य पाउने र बजारसम्म सहज पहुँच हुने व्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सरकारी कार्यालय, विद्यालय, होटल तथा विभिन्न सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने माग पनि किसानले अघि सारेका छन् । यसो गर्दा स्थानीय उत्पादनको खपत बढ्नुका साथै किसानले बजार सुनिश्चित गर्न सक्ने उनीहरूको अपेक्षा छ ।
फूलखेतीको वास्तविक अवस्था पहिचान गर्न जिल्लाभरका उत्पादक, उत्पादन क्षेत्रफल र बजारको मागसम्बन्धी तथ्याङ्क सङ्कलन गर्नुपर्ने मागसमेत किसानले गरेका छन्। तथ्याङ्कका आधारमा दीर्घकालीन योजना बनाएर फूलखेतीको संरक्षण, उत्पादन वृद्धि र बजार विस्तारमा सरकारी सहयोग उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीय उत्पादनको संरक्षण र किसानको लगानी सुरक्षित गर्न प्रशासन तथा सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने माग गर्दै किसानले सातबुँदे मागपत्रमार्फत आफ्नो समस्या अवगत गराएका छन्। स्वदेशी फूलको उत्पादन बढ्दै गएको अवस्थामा बजार व्यवस्थापन र आयात नियन्त्रणमा प्रभावकारी नीति नबने किसानको लगानी जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।























