काठमाडौं – श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
३० वर्षीय रथ्नायके बायाँहाते ब्याटर हुन्। उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै शैलीमा बलिङ गर्न सक्छन्। दुवै हातबाट बलिङ गर्ने क्षमताका कारण उनी क्रिकेटमा फरक शैलीका बलरका रूपमा परिचित छन् ।
रथ्नायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ती खेलमा उनले ६ विकेट लिनुका साथै ब्याटिङमा ७७ रन बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ६५ रन हो ।
घरेलु तथा अन्य टी–२० प्रतियोगितामा ८८ खेल खेलेका उनले ९८ विकेट लिएका छन्। यस क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन ८ रन खर्चेर ४ विकेट लिनु हो। उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन् ।
प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथ्नायकेले ३७८ विकेट लिनुका साथै १ हजार ९२३ रन बनाएका छन् । त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन् ।





















