काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १५७ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको विराटनगर किंग्सलाई १४९ रनमै अलआउट गर्दै चितवनले जित निकालेको हो ।
आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तानसमेत रहेका विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङमा कुनै चमत्कार देखाउन सकेनन् ।
वेस्ट इन्डिजका आन्द्रे रसेलले १७ बलमा ३२ रन खेलेर इनिङ उकासे पनि चितवन राइनोजका बलर हाबी हुँदा विराटनगर पराजय भोग्न बाध्य भयो । विराटनगरको लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए । त्यस्तै लोकेश बमले २६, अन्जेलो म्याथुसले १४ र बसिर अहमदले १३ रनको योगदान दिए पनि आफ्नो टीमलाई हारबाट जोगाउन सकेनन् ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी एक्लैले चार विकेट लिए । रिजन ढकालले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इङ्ल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
मलानले ७० रन बनाउँदा रवि बोपराले ३२ र डन मोस्लेले २९ रनको योगदान दिए । त्यस्तै देव खनालले १२ रन बनाए ।
बलिङतर्फ विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसल महँगो सावित भए । उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए ।
अन्य बलहरु अन्जेलो म्याथुज र चरिथ असलन्काले एकएक विकेट लिए । कप्तान सन्दीप लामिछाने भने विकेटविहीन भए । चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चिए ।





















