काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारमाथि महिला हिंसा र धम्कीसम्बन्धी अडियो सार्वजनिक भएपछि उनीमाथि थप प्रश्न उठेका छन् ।
यसअघि २०७८ ताका पनि एक महिलामाथि कुटपिट गरेको आरोपमा उनी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा पुगेको खुलेको छ ।
स्रोतका अनुसार लेनदेन विवादमा महिलामाथि कुटपिटको आरोप लागेपछि प्रहरीले सुनारलाई पक्राउ गरेको थियो ।
एक दिन हिरासतमा बसेपछि ती महिलाकै आग्रहमा दुवैबीच मिलापत्र भएको र सुनार छुटेको बताइएको छ ।
यसअघि २०८१ असारमा सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप पनि सुनारमाथि लागेको थियो ।
२०८० असारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलेको थियो भने अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबारसम्बन्धी मुद्दासमेत दायर भएको थियो ।
पछिल्लो अडियोमा महिलालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको सुनिन्छ ।
यस विषयमा रास्वपाले आन्तरिक छानबिन अघि बढाउँदै सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न रोक लगाएको छ ।
प्रहरीले भने अडियो प्रकरणमा हालसम्म उजुरी नपरेको जनाएको छ ।
सुनारले सामाजिक सञ्जालमार्फत आफू छानबिनमा सहयोग गर्न तयार रहेको र आवश्यक परे पार्टी तथा सांसद पदबाट निलम्बन हुनसमेत स्वीकार्ने बताएका छन् ।
उनले सार्वजनिक अडियो आफ्नो नभएको दाबी गर्दै एआईमार्फत आवाज नक्कल गरेर फसाउन खोजिएको जिकिर गरेका छन् ।






















