काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग इन्धन खरिदसम्बन्धी नयाँ सम्झौता घोषणा गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् ।
बेलायती सञ्चारकर्मी पियर्स मोर्गनले ट्रम्प प्रशासनबाट आफूलाई धोका भएको हो भनेर सोध्दा जेलेन्स्कीले ‘हो’ भन्दै उक्त सम्झौतालाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ‘सामान्य विजय’को संज्ञा दिएका छन् ।
‘हामीले एउटा बलियो साझेदार गुमाउँदै छौँ, यो दुःखद कुरा हो,’ जेलेन्स्कीले बुधबार मोर्गनको युट्युब कार्यक्रम ‘पियर्स मोर्गन अनसेन्सर्ड’मा भनेका छन् ।
गत साता ट्रम्पले सामाजिक सञ्जालमार्फत रूसका राष्ट्रपति पुटिनले आफ्नो देशको डिजेल इन्धन बजारमा आपूर्ति गर्न सहमति जनाएको बताएका थिए ।
मध्यावधि निर्वाचनअघि ऊर्जा लागत घटाउने प्रयासमा रहेका ट्रम्पको उक्त घोषणाले अमेरिकी राजनीतिक वृत्तमा आलोचना निम्त्याएको थियो ।
युरोपेली सहयोगी राष्ट्रहरूले पनि यसप्रति असन्तुष्टि जनाएका थिए ।
‘ट्रम्पले एउटा पक्ष रोज्दा पीडा हुन्छ’
मोर्गनसँगको अन्तर्वार्ताका क्रममा जेलेन्स्कीले युक्रेन आफ्नो देश, आफ्नो घर र आफ्ना सन्तानको भविष्यसँग जोडिएको विषय भएकाले ट्रम्पले एउटा पक्ष रोज्दा आफूलाई पीडा हुने बताएका छन् ।
‘यो हाम्रो देश हो, हाम्रो शरीर हो, हाम्रो घर हो, हाम्रा सन्तान हुन् । त्यसैले ट्रम्पले एउटा पक्ष रोज्दा पीडा हुन्छ,’ जेलेन्स्कीले भने, ‘यदि तपाईंबीचमा हुनुहुन्छ भने बीचमै रहनुपर्छ । गलत पक्षमा उभिनु हुँदैन । यो इतिहासको सही पक्ष होइन ।’
रूसले ट्रम्पलाई कमजोर बनाउन चाहेको दाबी गर्दै जेलेन्स्कीले अमेरिकी निर्वाचनप्रति रूसलाई खासै चासो नरहेको पनि बताएका छन् ।
ऊर्जा युद्धविरामको घोषणापछि पनि युक्रेनमा आक्रमण
अमेरिकी राष्ट्रपति ट्रम्पले ऊर्जा क्षेत्रमा युद्धविराम लागू भएको बताएको केही घण्टापछि नै सोमबार रूसी सेनाले युक्रेनमा नयाँ आक्रमण गरेको थियो ।
यद्यपि, मस्को र किभ दुवैले उक्त युद्धविरामबारे सार्वजनिक रूपमा पुष्टि गरेका थिएनन् ।
पछिल्ला साताहरूमा रूसी र युक्रेनी सेनाले एकअर्काका ऊर्जा पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएका छन् ।
तर, युद्धमैदानमा दुवै पक्षको अग्रगति भने तुलनात्मक रूपमा सुस्त देखिएको छ ।
ट्रम्प प्रशासनले युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिका लामो दूरीका आक्रमण रोक्नुपर्ने भन्दै त्यसो नगरे अमेरिकाले गुप्तचर सूचना आदानप्रदान बन्द गर्न सक्ने चेतावनी दिएको थियो ।
साथै, युक्रेनका लागि युरोपेली मुलुकले खरिद गर्दै आएका अमेरिकी हतियारको आपूर्तिमा पनि असर पर्न सक्ने संकेत गरिएको थियो ।
रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन युक्रेनका लागि अमेरिकी गुप्तचर सूचना महत्त्वपूर्ण मानिन्छ ।
यस्तो सूचनाले क्षेप्यास्त्र प्रक्षेपण स्थल, आक्रमणको सम्भावित दिशा र समयबारे जानकारी दिन मद्दत गर्छ ।
तर, ट्रम्प प्रशासनका अधिकारीहरूले गुप्तचर सूचना आदानप्रदान जारी रहेको बताइरहेका बेला युक्रेनले क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनीमा कमी आएको विषयमा प्रश्न उठाएको थियो ।
युक्रेनले स्पष्टीकरण माग्दा अमेरिकी अधिकारीहरूले मौसमलाई कारण देखाएको युरोपेली अधिकारीहरूले बताएका छन् ।
तर, युक्रेनी अधिकारीहरूले भने यो प्राविधिक समस्या नभई जानाजानी गरिएको कदम हुन सक्ने आशंका गरेका छन् ।
‘अमेरिकाले यो असफलता भएको बताउँछ । तर, त्यो सत्य हुन सक्दैन,’ एक युरोपेली अधिकारीले सीएनएनसँग भनेका छन् ।
युक्रेनी अधिकारीका अनुसार गुप्तचर सूचना कटौतीले युद्धमैदानमा रूसलाई वास्तविक रणनीतिक लाभ दिन सक्छ ।
युक्रेनी सेनाले रूसी सेनाको अग्रगति रोकिरहेको र कब्जामा रहेका क्षेत्र फिर्ता लिने प्रयास गरिरहेका बेला यस्तो अवस्थाले थप चुनौती सिर्जना गर्न सक्ने उनीहरूको भनाइ छ ।
स्टारलिंक सेवामा प्रतिबन्धले पनि चिन्ता
अमेरिकी गुप्तचर सूचनासम्बन्धी समस्यासँगै एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिंक सेवामा लगाइएको केही प्रतिबन्धले पनि युक्रेनको सैन्य सञ्चारमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार सैन्य प्रयोजनका लागि प्रयोग हुने स्टारलिंकको संस्करण ‘स्टारसिल्ड’ मा लगाइएका प्रतिबन्धबारे उनीहरू पूर्वजानकारीबिना नै प्रभावित भएका थिए ।
जेलेन्स्कीले रूसी सेनाले स्टारलिंक सेवामा आएको अवरोधको फाइदा उठाउँदै रातभर भीषण आक्रमण गरेको आरोप लगाएका छन् ।
उनका अनुसार युक्रेनी सेनाले रुसले प्रयोग गर्ने जेट इन्जिनयुक्त शाहेद ड्रोनबाट बच्न उक्त प्रविधिको प्रयोग गर्दै आएको छ ।
‘यो ठूलो गल्ती हो । यो निर्णयले ठूलो मानवीय क्षति निम्त्याउनेछ । मानिसहरू मर्नेछन्,’ जेलेन्स्कीले अन्तर्वार्तामा भने ।
उनले मस्कलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गर्दै भने, ‘मेरो सन्देश स्पष्ट छ । मलाई आशा छ, यो गल्ती हो वा ठूलो प्राविधिक समस्या हो । हामी उहाँलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरिरहेका छौँ ।’
यसैबीच, मस्कले बुधबार स्टारसिल्ड प्रणाली अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा रहेको बताएका छन् ।
यसको गति वा प्रयोगमा लगाइने सीमाबारे निर्णय गर्ने अधिकार अमेरिकी सेना र राष्ट्रपतिसँग रहेको उनको भनाइ छ ।
उनले स्टारलिंक भने स्पेसएक्सको स्वामित्व र नियन्त्रणमा रहेको व्यावसायिक सेवा भएको उल्लेख गर्दै यसको प्रयोग नागरिक तथा रक्षात्मक गतिविधिमा सीमित हुनुपर्ने बताएका छन् ।
‘स्टारलिंकलाई आक्रामक सैन्य कारबाहीका लागि प्रयोग गर्न सकिँदैन । व्यावसायिक कम्पनीका लागि यस्तो प्रयोग अनुचित हुन्छ,’ मस्कले भनेका छन् ।
युरोपेली नेतासँग समर्थन जुटाउँदै जेलेन्स्की
रुससँगको इन्धन सम्झौता र अमेरिकी सहयोगमा देखिएको अनिश्चितताबीच जेलेन्स्कीले पछिल्लो एक सातादेखि युरोपेली नेताहरूसँगको संवाद तीव्र बनाएका छन् ।
बुधबार उनले बेलायतको लन्डनमा प्रधानमन्त्री एन्डी बर्नह्याम र राजा चार्ल्ससँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
जेलेन्स्कीका अनुसार रूसी सेनाले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरी गरेको आक्रमणका कारण युक्रेनमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए ।
अमेरिकी गुप्तचर सूचना, सैन्य सञ्चार प्रविधि र ऊर्जा क्षेत्रमा रुससँग भइरहेको सहकार्यबारे उठेका प्रश्नले युक्रेनको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ ।
यस्तो अवस्थामा युरोपेली राष्ट्रहरूको समर्थन बलियो बनाउने प्रयासमा जेलेन्स्की जुटिरहेका छन् । –सीएनएनए






















