सर्लाही– सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बाबु थापा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित घरबाट पक्राउ गरेको हो ।
सर्लाहीका प्रहरी प्रमुख रविन्द्रनाथ पौडेलका अनुसार थापाको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ ।
उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
थापा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए ।
उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ ।
यसअघि पनि लामो खोजीपछि २०७१ सालमा पक्राउ परेका थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए ।
न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।
पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई हत्याको पृष्ठभूमिसँग जोडिएको थियो ।
उक्त प्रकरणमा दोषी ठहर भएपछि थापा जन्मकैदको सजाय भोगिरहेका थिए ।























