काठमाडौं – बाढीले बगाएको नुवाकोटको त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने झोलुङ्गे पुल एक महिनामै पुनर्निर्माण सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नै कोषबाट निर्माण गरेको २६८ मिटर लामो पुल भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदीमाथिको उक्त पुल बगाएपछि दुई बजारबीचको आवतजावत प्रभावित बनेको थियो । स्थानीय बासिन्दाको आवागमन सहज बनाउँदै विपद्पछिको जनजीवन सामान्य अवस्थामा फर्काउन महासंघले पुल पुनर्निर्माण गर्ने निर्णय गरेको थियो ।
महासंघको आर्थिक सहयोग र निर्माण व्यवसायी संघ नुवाकोटको सक्रियतामा छोटो अवधिमै पुल निर्माण सम्पन्न भएको हो । निर्माणका क्रममा संघका पदाधिकारी तथा सदस्यहरूले दिनरात खटेर काम गरेका थिए। पुल सञ्चालनमा आएपछि त्रिशूली र ढुङ्गे बजारबीच आवतजावत गर्ने स्थानीय बासिन्दालाई सहज हुने र बाढीबाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुल पुनर्निर्माणलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई विपद्का बेला निजी क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। संकटका समयमा स्थानीय समुदायलाई तत्काल राहत पुग्ने गरी निर्माण व्यवसायीहरूले आफ्नै स्रोत परिचालन गरेर काम अघि बढाएको महासंघको यो पहलले देखाएको छ ।
पुल निर्माणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ र निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्र प्याकुरेललगायत पदाधिकारी तथा सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी, पुल निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने ललितपुरको पुल्चोकस्थित सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट, विदुर नगरपालिका तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने अन्य निकाय र व्यक्तिप्रति निर्माण व्यवसायी संघले आभार व्यक्त गरेको छ।
बाढीले क्षति पुर्याएका पूर्वाधारको पुनर्निर्माणमा सरकारी प्रक्रिया र बजेट व्यवस्थापनका कारण समय लाग्न सक्ने अवस्थामा एक महिनामै पुल तयार हुनु स्थानीयका लागि राहतको विषय बनेको छ। पुल सञ्चालनमा आएसँगै नदी वारपारको आवागमन सहज हुने र बाढीपछिको दैनिकीलाई लयमा फर्काउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।






















