images
images
  • मलेसिया बायोमेडिकल प्रकरणः एउटै मात्र कम्पनीलाई अनुमति दिने क्याबिनेट निर्णय नै शंकास्पद

    काठमाडौं – मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णय नै शंकास्पद पाइएको छ। एउटा मात्र कम्पनीलाई बायोमेडिकल दिने निर्णय कसरी क्याविनेटमा प्रवेश गर्यो भन्नेमा थप शंका जन्मिएको छ। सामान्यतः विभागीय मन्त्रीले क्याबिनेट बैठकमा प्रस्ताव पेश गरे पनि अन्तिम निर्णय प्रधानमन्त्रीले गर्ने प्रचलन रहेको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार मन्त्रीस्तरीय निर्णयबाट म्याक्रोटेकलाई मात्र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा सञ्चालन गर्न अनुमति दिइएको थियो। कम्पनीले आफूले तोकेका स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने व्यवस्था गरेपछि कामदार थप शुल्क तिर्न बाध्य भएका थिए।

    २०७५ सालको अन्त्यदेखि २०८० सालसम्म मलेसिया जाने ७ लाख ३३ हजार नेपाली कामदारबाट प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिटका दरले अतिरिक्त शुल्क असुल गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    बायोमेडिकल शीर्षकमा नेपालमा संकलन गरिएको रकमको ९० प्रतिशत मलेसिया पठाइएको तथ्य समेत सीआईबीले फेला पारेको छ। सीआईबीको अनुसन्धानअनुसार म्याक्रोटेक प्रालिले नेपालमा संकलन गरेको रकमको ९० प्रतिशत मलेसियास्थित बेस्टिनेट नामक कम्पनीलाई पठाउने गरेको थियो । बाँकी १० प्रतिशत रकम नेपालमै राख्ने गरिएको अनुसन्धानमा खुलेको छ ।

    मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाउन श्रम मन्त्रालयले नै राष्ट्र बैंकलाई पत्र लेखेको खुलेको छ।

    सीआईबीको अनुसन्धानले मन्त्रालयको पत्रका आधारमा राष्ट्र बैंकले सो रकम पठाउन अनुमति दिएको खुलेको हो ।

    सरकारी समझदारीविपरीत श्रमिकबाट अतिरिक्त शुल्क असुल्ने कम्पनीलाई संरक्षण गरेको र गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परेका छन्।

    सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित केही पूर्व र बहालवाला सरकारी अधिकारी तथा व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र तत्कालीन रोजगार व्यवस्था विभागका प्रमुख राजीव पोखरेलसमेत छन्।

    यस प्रकरणमा तत्कालीन श्रममन्त्री डीपी अर्याल पनि अनुसन्धानको घेरामा परेका छन्। तर शक्ति र सत्ताका आडमा उनीमाथिको अनुसन्धान अगाडि बढाइएको छैन। उनी श्रममन्त्री भएको बेला मलेसिया रकम पठाउन दुई पटक पत्राचार गरेको पाइएको छ।

    सीआईबीको अनुसन्धानअनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड ८० पेन्स गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेश पठाइएको थियो।

    उक्त रकम विदेश पठाउन मन्त्रालयबाट राष्ट्र बैंकलाई पत्र गएको र सोही पत्रका आधारमा विदेशी मुद्रा पठाउने अनुमति दिइएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ।

    नेपाल र मलेसिया सरकारबीच भएको समझदारीअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले शुल्क निर्धारण गरेको थियो। कामदारले नियमित स्वास्थ्य परीक्षणका लागि ४ हजार ५०० रुपैयाँ तिर्दै आएका थिए।

    तर यही प्रक्रियामा बायोमेडिकल सेवाको नाममा अतिरिक्त शुल्क असुल्ने व्यवस्था गरिएको सीआईबीको अनुसन्धानले देखाएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियामा म्याक्रोटेक प्रालिले भूमिका खेलेको थियो। उक्त कम्पनीमार्फत कामदारलाई थप मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त परीक्षण गर्न बाध्य पारेर शुल्क उठाउने गरिएको अनुसन्धानबाट खुलेको हो।

    तत्कालीन विनिमय दरअनुसार प्रतिकामदार करिब ३ हजार १६० रुपैयाँ पर्ने उक्त रकम पाँच वर्षमा कुल २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको सीआईबीको प्रारम्भिक निष्कर्ष छ।

    सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क तिरेर पनि कामदारले थप १०० रिङ्गिट तिर्नुपर्ने बाध्यात्मक व्यवस्था सिर्जना गरिएको सीआईबीको भनाइ छ।

    यो पनि पढ्नुस्

    श्रमिकको पसिनामा मन्त्रीदेखि बिचौलियासम्मको रजाइँ, यस्तो छ मन्त्रीको टेबुलबाट हराएको छानबिन प्रतिवेदन

    बायोमेडिकल प्रकरण: सभामुख अर्याललाई छानबिनबाट उन्मुक्ति !

    प्रतिक्रिया दिनुहोस्
    images
    images