images
images
  • प्रहरी अनुसन्धानमा तानिइन् इनम पत्नी कविता

    काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण पक्राउ परेका इनम सापकोटाकी पत्नी कविता पाण्डे पनि प्रहरी अनुसन्धानमा तानिएकी छन् । प्रहरीले उनीसँग बयान लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले पाण्डेलाई अघिल्लो साता कार्यालयमा उपस्थित गराएर घटना विवरण कागज गराएको हो। प्रहरीका अनुसार सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

    अनुसन्धानका क्रममा सापकोटाको मोबाइल फोन परीक्षण गर्दा पत्नी पाण्डेको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गरिएको सन्देश फेला परेको थियो। सापकोटाले एक व्यक्तिलाई सानिमा बैंकमा रहेको पत्नीको खाता नम्बर पठाउँदै त्यसमा ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।

    उक्त सन्देश र सम्भावित आर्थिक कारोबारबारे स्पष्ट पार्न पाण्डेलाई बोलाएर सोधपुछ गरिएको काठमाडौं प्रहरीले जनाएको छ। सो क्रममा उनको बैंक खाता, रकम जम्मा गर्न गरिएको आग्रह र सापकोटासँग जोडिएका अन्य विषयमा जानकारी लिइएको प्रहरी स्रोतले बताएको छ।

    यसैबीच सापकोटासँग सम्पर्क र सम्बन्ध देखिएका अन्य प्रभावशाली व्यक्तिहरूमाथि पनि प्रहरी अनुसन्धान अघि बढेको छ। प्रहरीले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

    सापकोटासँग जोडिएका व्यक्ति र आर्थिक कारोबारको सञ्जालबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images