काठमाडौं– इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोल्नासर हेमाटीले तेहरानको विदेशी मुद्रा तथा सुन विनिमय केन्द्रमाथि अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको आलोचना गरेका छन्। उनले अमेरिकासँग अब प्रतिबन्ध लगाउने नयाँ अस्त्र बाँकी नरहेको टिप्पणी गरेका छन्।
इरानी गभर्नर हेमाटीले अमेरिकी प्रतिबन्धप्रति प्रतिक्रिया दिँदै वासिङ्टनको प्रतिबन्धको अस्त्र नै रित्तिसकेको बताएका हुन्।
अमेरिकाले तेहरानसँग सम्बन्धित वित्तीय गतिविधिमाथि प्रश्न उठाउँदै आएको छ। तर इरानले विदेशी मुद्रा तथा सुन विनिमय केन्द्र कुनै गोप्य बैंक वा अवैध वित्तीय संस्था नभई सार्वजनिक प्रयोजनका लागि सञ्चालन गरिएको आधिकारिक प्लेटफर्म भएको दाबी गरेको छ।
यसैबीच अमेरिकाले सोमबार इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले २४ वटा इरानी बैंकिङ कम्पनी तथा विदेशी व्यापारमा सहयोग पुर्याउने कम्पनीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको थियो। प्रतिबन्धमा संयुक्त अरब इमिरेट्स (यूएई), टर्की र हङकङमा रहेका व्यक्ति तथा कम्पनीसमेत समेटिएका छन्।
इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो निर्देशन पालना नगर्ने जहाजमाथि आक्रमण तीव्र बनाउँदै आएको छ । यस कदमलाई अमेरिकाको नौसैनिक नाकाबन्दी अन्त्य गर्ने तयारीको हिस्सा भएको इरानी अनुसन्धानकर्ता अली अकबर दारेनीले बताएका छन्।
अल जजिरासँग कुरा गर्दै रणनीतिक अध्ययन केन्द्रका अनुसन्धानकर्ता दारेनीले अहिलेको अवस्था ठूलो स्तरको युद्धअघि भइरहेको न्यून तीव्रताको तयारी युद्ध भएको बताएका हुन्।
उनका अनुसार इरानले अमेरिकी प्रारम्भिक चेतावनी प्रणाली र राडार केन्द्रलाई निशाना बनाउनुको मुख्य उद्देश्य सम्भावित ठूलो युद्धअघि अमेरिकाको सैन्य क्षमता कमजोर बनाउनु हो।
‘आगामी युद्धमा अमेरिकी सैन्य सञ्जाललाई कमजोर र अवरुद्ध पार्न इरानले बहराइन र कुवेतस्थित सैन्य संरचनामाथि आक्रमण बढाएको छ’, दारेनीले भनेका छन्।
उनका अनुसार इरानले अमेरिकी सैन्य निगरानी प्रणालीलाई निष्क्रिय बनाउँदै सम्भावित युद्धमा अमेरिकाको निगरानी तथा सूचना संकलन क्षमतामाथि प्रहार गर्न खोजिरहेको छ।
इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धकै एक स्वरूपका रूपमा लिएको छ। त्यसलाई अन्त्य गर्ने आफ्नो अडानमा तेहरान दृढ रहेको दारेनीको भनाइ छ।
‘विश्वकै सबैभन्दा ठूलो सैन्य शक्तिसँग सामना गर्नुपर्ने भएकाले अमेरिकी युद्धपोतलाई चुनौती दिन आवश्यक तयारी पूरा गर्न समय लाग्छ’, उनले भनेका छन्।
यसैबीच बेलायतको समुद्री व्यापार सञ्चालन निकाय (यूकेएमटीओ) ले सोमबार साँझ स्ट्रेट अफ होर्मुज हुँदै पूर्वतर्फ गइरहेका तीनवटा जहाजमाथि अज्ञात प्रक्षेप्यबाट आक्रमण भएको जनाएको छ।
मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार तीनवटै जहाजले आक्रमणपछि पनि आफ्नो यात्रा जारी राखेका छन्। जहाजमा रहेका सबै चालक दलका सदस्य सुरक्षित रहेको र उनीहरूको अवस्था पुष्टि भइसकेको यूकेएमटीओले जनाएको छ।
तर आक्रमणमा प्रयोग गरिएका प्रक्षेप्यको पहिचान र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसैनिक बलले स्ट्रेट अफ होर्मुजमा अनुमति नलिएको मार्ग प्रयोग गर्ने क्रममा चौथो तेल ट्यांकर समुद्री बारुदमा परेको दाबी गरेको छ।
यसअघि पनि उक्त जलमार्गमा समुद्री बारुदमा ठोक्किएपछि तीनवटा जहाजमा आगलागी भएको इरानी नौसेनाको जनसम्पर्क कार्यालयले जनाएको थियो।
इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार ती घटनाबारे नौसेनाले जानकारी गराएको हो।
पछिल्ला केही सातायता इरानको अनुमति नलिई होर्मुज जलमार्ग पार गर्न खोज्ने जहाजमाथि आक्रमणका घटना बढेका छन्।
विश्वको महत्त्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण रहेको दाबीलाई व्यवहारमै स्थापित गर्न तेहरानले समुद्री गतिविधिमाथि कडाइ गरिरहेको देखिन्छ।
होर्मुज जलमार्गमा बढ्दो सैन्य तनाव, जहाजमाथिका आक्रमण र अमेरिकी प्रतिबन्धले अमेरिका–इरानबीचको टकराव थप गहिरिँदै गएको संकेत गरेका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने अडान दोहोर्याइरहँदा यस क्षेत्रमा ठूलो सैन्य संघर्षको जोखिमसमेत बढेको छ।






















