images
images
  • एनभिडिया सीईओसँग सम्बन्धमा रहँदै एलिस चिनियाँ गुप्तचर अधिकारीसँग सम्पर्कमा रहेको खुलासा

    काठमाडौं – चिप निर्माता कम्पनी एनभिडियाको विवादमा केन्द्रमा रहेकी चिनियाँ नागरिक एलिस हुआङले कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एक वर्षभन्दा बढी समय चीनको सर्वोच्च गुप्तचर निकायका एक अधिकारीसँग सम्पर्क राखेको ‘द न्युयोर्क टाइम्स’ले आइतबार जनाएको छ।

    गुप्तचर प्रतिवेदनबारे जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै पत्रिकाले एलिस सन् २०२५ को वसन्तदेखि यस वर्षको शरद ऋतुसम्म चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीको सम्पर्कमा रहेको जनाएको हो।

    जेन्सेन हुआङका प्रवक्ताले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। एनभिडिया र वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले पनि टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल जवाफ दिएनन्। रोयटर्सले प्रतिक्रियाका लागि एलिस हुआङसँग सम्पर्क गर्न सकेको छैन।

    एलिसले यसअघि सिंगापुरस्थित मेगास्पिड इन्टरनेशनलको नेतृत्व गरेकी थिइन्। उक्त कम्पनी एनभिडियाको महत्त्वपूर्ण ग्राहक थियो र एक समय एनभिडियाका अर्बौं डलर मूल्यका चिप खरिद गर्थ्यो।

    मेगास्पिडले एनभिडियाका अत्याधुनिक एआई चिप चीनमा तस्करी गरेको आशंकामा अमेरिकी अधिकारीहरूले सन् २०२४ देखि नै उक्त कम्पनीमाथि अनुसन्धान गर्दै आएका छन्।

    गत महिना एलिस चिनियाँ जासुस हुन सक्ने प्रारम्भिक संकेतसहित न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो। त्यसयता अमेरिकी अधिकारीहरूले उनी चीनका लागि जासुसी गरेको निष्कर्षमा पुगिनसकेको बताउँदै आएका छन्। आइतबारको पछिल्लो रिपोर्ट त्यही अनुसन्धान र विवादकै बीच सार्वजनिक भएको हो।

    अक्टोबर २९ मा प्रकाशित उक्त समाचारले ठूलो विवाद निम्त्याएको थियो। त्यसको दुई सातापछि जेन्सेनले एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीको सेयर मूल्यमा पनि तीव्र गिरावट आएको थियो।

    ट्रम्प प्रशासनका अधिकारीहरूले एलिसले चीनका लागि जासुसी गरेको निष्कर्षमा आफूहरू नपुगेको पटक–पटक बताउँदै आएका छन्। अमेरिकी महान्यायाधिवक्ता टड ब्लान्चले यसै महिना न्याय विभागले एलिस चिनियाँ जासुस थिइन् वा थिइनन् भन्नेबारे अझै निष्कर्ष निकालिनसकेको बताएका थिए।

    अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले पनि आइतबार यही धारणा दोहोर्‍याए।

    ‘महान्यायाधिवक्ता ब्लान्चले सुश्री हुआङ र उनको कम्पनी दुवै विभिन्न विषयमा अनुसन्धानको दायरामा रहेको स्पष्ट पारिसक्नुभएको छ’, क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘म उक्त अनुसन्धानलाई निष्कर्षमा पुग्न दिनेछु।’

    यस विवादले चीनतर्फ हुने सेमिकन्डक्टर निर्यात नियन्त्रणसम्बन्धी वासिङ्टनको नीतिमाथि पनि बहस चर्काएको छ। दुवै दलका सांसदले बहुमूल्य सेमिकन्डक्टरको बिक्री नियमन र कानुन कार्यान्वयनमा ट्रम्प प्रशासन पर्याप्त कडा नभएको हो कि भन्ने प्रश्न उठाइरहेका छन्।

    लुइजियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले भने जेन्सेन र एलिसबीचको प्रेम सम्बन्ध आफैंमा त्यति चासोको विषय नभएको बताएका छन्।

    ‘उहाँले रमाइलो समय बिताउनुभएको थियो भन्ने आशा गर्छु’, केनेडीले आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा व्यङ्ग्य गर्दै भने, ‘ट्रोयकी हेलेनपछि यो सबैभन्दा महँगो यौन सम्बन्ध साबित भयो।’

    –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images