काठमाडौं । नेपाली बजारमा तत्काल ऊर्जा दिने पेय पदार्थ (इनर्जी ड्रिंक) को लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उत्पादित एक्स्ट्रिम इनर्जि ड्रिंक (क्लासिक) नामको पेय पदार्थले शारीरिक श्रम गर्ने, खेलाडी वा लामो यात्रामा निस्कनेहरूलाई क्षणिक रूपमा स्फूर्ति प्रदान गरे तापनि यसको उच्च क्याफिन र चिनीको मात्रा सबैका लागि सुरक्षित नहुने विभिन्न अनुसन्धानले देखाएको छ ।
उत्पादक कम्पनीले प्रति क्यान (३३० ml) मा १६५ किलोकैलोरी ऊर्जा र उच्च क्याफिन (३०mg/१००ml) रहेको तथ्य लेबलमा उल्लेख गरेको छ ।
विश्वस्तरीय प्रमाणित वैज्ञानिक अनुसन्धान र उत्पादक स्वयंको सचेतनामूलक चेतावनीका आधारमा केही स्वास्थ्य अवस्था वा समूहका व्यक्तिहरूले यो इनर्जी ड्रिंक खानै हुँदैन ।
यो इनर्जी ड्रिंकको प्रति १०० एमएलमा ३० एमजी क्याफिन छ, जसको अर्थ एक क्यान (३३० एमएल) मा करिब ९९ एमजी क्याफिन हुन्छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरणका अनुसार बालबालिका र किशोर-किशोरीहरूको शरीरले वयस्कको तुलनामा क्याफिनलाई निकै ढिलो पचाउँछ ।
बालबालिकाले यति उच्च मात्रामा क्याफिन सेवन गर्दा अनिद्रा, अत्यधिक छटपटी, व्यवहारमा चिडचिडापन र मुटुको धड्कन असामान्य रूपमा बढ्ने जस्ता गम्भीर मानसिक तथा शारीरिक समस्याहरू देखा पर्छन् ।
गर्भावस्थामा क्याफिनको उच्च सेवनले सिधै साल पार गरी भ्रूणसम्म पुग्छ । विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार गर्भावस्थामा दैनिक उच्च मात्रामा क्याफिन सेवन गर्दा गर्भपतन हुने वा जन्मिने बच्चाको तौल असामान्य रूपमा कम हुने जोखिम उच्च रहन्छ ।
अमेरिकी कलेज अफ ओब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्सले गर्भवती महिलाहरूका लागि दैनिक क्याफिनको मात्रा २०० मिलिग्राम भन्दा कममा सीमित राख्न सुझाव दिएको छ, जबकी यो ड्रिंकको एकै क्यानले सुरक्षित सीमाको आधा हिस्सा ओगट्छ । साथै, स्तनपान गराइरहेका आमाहरूले खाएको क्याफिन दूध मार्फत शिशुको शरीरमा प्रवेश गरी शिशुमा अत्यधिक छटपटी र निद्राको समस्या निम्त्याउँछ ।
यो पेय पदार्थमा अत्यधिक मात्रामा ‘ग्लुकोज-फ्रक्टोज सिरप’ र चिनीको मिश्रण गरिएको हुन्छ । विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार, थपिएको चिनीको अत्यधिक उपभोगले रगतमा ग्लुकोजको मात्रा तुरुन्तै बढाउँछ र मोटोपन तथा मधुमेहको जोखिम निम्त्याउँछ ।
नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित वैज्ञानिक अनुसन्धानहरूका अनुसार, यस्तो उच्च चिनीयुक्त पेय पदार्थको सेवनले शरीरमा इन्सुलिन रेसिस्टेन्स गराउँछ, जसले टाइप-२ मधुमेहका बिरामीमा सुगरको सन्तुलन पूर्ण रूपमा बिर्गार्छ । साथै, अमेरिकन डायबिटिज असोसिएसनको जर्नलमा प्रकाशित अध्ययन अनुसार यस्ता अल्ट्रा-प्रोसेस्ड ड्रिंकहरूको अधिक सेवनले मेटाबोलिक सिन्ड्रोम र कलेजोमा बोसो जम्ने खतरालाई ३३ प्रतिशतसम्म बढाइदिन्छ ।
पेय पदार्थमा रहेको क्याफिन र टोरिनको सम्मिश्रणले मुटु र रक्तसञ्चारमा तीव्र प्रभाव पार्छ । अमेरिकन हार्ट असोसिएसनको जर्नलमा प्रकाशित क्लिनिकल अनुसन्धानका अनुसार, इनर्जी ड्रिंकको उपभोगले मुटुको विद्युतीय प्रणालीमा परिवर्तन ल्याउँछ र रक्तचाप अचानक बढाउँछ, जसले गर्दा मुटुको चाल अनियन्त्रित हुन सक्छ ।
नेसनल इन्स्टिच्युट अफ हेल्थमा उल्लेखित अध्ययनहरूका अनुसार इनर्जी ड्रिंकको अत्यधिक सेवनले धमनीहरू खुम्च्याउने र रगत जम्ने प्रक्रियालाई बढाएर हृदयाघातको जोखिम निम्त्याउन सक्छ। यसका साथै, युरोपेली खाद्य सुरक्षा प्राधिकरणको वैज्ञानिक प्रतिवेदन अनुसार एकल मात्रामा १०० एमजी आसपास क्याफिन लिँदा संवेदनशील व्यक्तिहरूमा कडा एन्जाइटी र शरीर काम्ने समस्या देखिन्छ ।
उत्पादककै चेतावनी : लेबलमा के लेखिएको छ ?
यो ड्रिंकको क्यानको पछाडि उत्पादक कम्पनी एग्रो थाई फुड्सले स्पष्ट रूपमा सचेत गराउँदै लेखेको छ : NOT RECOMMENDED FOR DIABETIC PEOPLE, CHILDREN, PREGNANT OR LACTATING WOMEN AND PEOPLE SENSITIVE TO CAFFEINE. (अर्थात्: मधुमेहका बिरामी, बालबालिका, गर्भवती वा स्तनपान गराउने महिला र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूका लागि यो पेय सिफारिस गरिँदैन) ।
यो पनि पढ्नुहोस् ।
तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ ? इनर्जी ड्रिंक भनेर बेचिने ‘एक्स्ट्रिम’मा के छ ?























