काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसले करिब डेढ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट ९९ हजार ६४ अमेरिकी डलर सहयोग सङ्कलन गरिएको थियो । उक्त रकममध्ये बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उनले जानकारी दिए ।
नेपाली राजदूतावास, वासिङ्टन डीसीका अधिकारीसमेत सहभागी जुम बैठकमार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी गराएको थियो ।
प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ । यसअघि पनि फाउन्डेसनले भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रममा योगदान पुर्याएको थियो ।
नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्धभूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माणको कामसमेत अघि बढाएको छ ।






















