काठमाडौं– सरकारले गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेलगत्तै लुम्बिनी अशान्त बन्न थालेको छ । स्थानीयले दैनिक प्रदर्शन गरिरहेका छन् । राजधानी काठमाडौंमा समेत विरोध प्रदर्शन भइरहेको छ ।
नेपाली नागरिकता विवादमा परेको र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको भन्दै यसको विरोध भइरहेको छ । आनी नियुक्तिको विरोध गर्दै लुम्बिनी बचाउ महाअभियानले उनलाई लुम्बिनी प्रवेशमा निषेधको घोषणा गरेको छ ।
महाअभियानले सोमबार संस्कृतिमन्त्री खडकराज पौडेलको पुतला दहन गरेको थियो । सोही कारण महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले मध्यराति उनकै घरबाट पक्राउ गरेको छ ।
महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै खानको पक्राउलाई गैरकानुनी र स्वेच्छाचारी कदमको संज्ञा दिएका छन् । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयविरुद्ध नागरिकस्तरबाट भएका शान्तिपूर्ण विरोध प्रदर्शन तथा असहमतिलाई दबाउने उद्देश्यले खानलाई पक्राउ गरिएको महाअभियानको आरोप छ ।
शान्तिपूर्ण ढंगले विरोध गर्ने र आफ्ना विचार राख्ने अधिकार नागरिकका मौलिक हकभित्र पर्ने बताउँदै सरकारको यस कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको विज्ञप्तिमा औंल्याइएको छ ।
लुम्बिनी बचाउ महाअभियानले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनसँग संयोजक खानको तत्काल रिहाइको माग गरेको छ । माग समयमै सम्बोधन नभएमा तथा हिरासतमा कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिइएमा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् सरकार र प्रशासन हुने चेतावनीसमेत दिएको छ ।
प्रहरीले भने संस्कृतिमन्त्री पौडेलको तस्बिर जलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।






















