images
images
  • १० वर्ष लगाएर बनाइएको पुल सञ्चालनमा आएन

    काठमाडौं – बाजुराको बेतालमाडौँ–डेल्टा सडकखण्डअन्तर्गत बार्जुगाड खोलामा १० वर्ष लगाएर निर्माण गरिएको पक्की पुल अझै सञ्चालनमा आउन सकेको छैन । पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सडकको दयनीय अवस्था र निर्माण ढिलाइका कारण देखिएको आर्थिक विवादले पुल हस्तान्तरण प्रक्रिया रोकिएको छ । यसले पुलबाट यातायात सेवा सहज हुने आशामा रहेका स्थानीयवासीलाई निराश बनाएको छ ।

    खप्तड छेडेदह गाउँपालिका–३ र बूढीगङ्गा नगरपालिका–४ को सीमामा पर्ने बार्जुगाड खोलामा पुल नहुँदा स्थानीयवासीले वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने नागरिकलाई पुल बनेपछि सहज हुने आशा थियो । तर, पुल निर्माण भए पनि सवारीसाधन सञ्चालन हुन नसक्दा स्थानीयले पुरानै समस्या भोग्नुपरिरहेको छ ।

    खप्तड छेडेदह गाउँपालिका–३ का स्थानीय रामबहादुर रावतका अनुसार पुल निर्माण भएपछि पैदल आवतजावत गर्न केही सहज भए पनि यातायातको समस्या हटेको छैन । पुलबाट नियमित सवारीसाधन सञ्चालन हुने आशामा बसेका स्थानीय सडक अवरुद्ध हुँदा थप समस्यामा परेको उनले बताए ।

    पुल निर्माणका लागि विसं २०७३ मा तत्कालीन जिल्ला विकास समितिले दुई करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अछामको साउँद एडभेन्चर जेभीले ठेक्का लिएको थियो । तर, निर्धारित समयभन्दा करिब आठ वर्ष ढिलो गरी पुलको निर्माण सम्पन्न भएको हो ।

    पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार पुल निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीमाथि आर्थिक दायित्वसमेत थपिएको छ। दुई वर्षभित्र सकिनुपर्ने पुल २०८३ असारमा मात्रै निर्माण सम्पन्न भएको उनले बताए ।

    पुलको भौतिक निर्माण पूरा भए पनि हस्तान्तरण प्रक्रिया भने अघि बढ्न सकेको छैन । निर्माणमा भएको ढिलाइका कारण महालेखाले कुल बजेटको १० प्रतिशत रकम असुल गर्नुपर्ने भन्दै २२ लाख रुपैयाँ बेरुजु देखाएको कार्यालयको भनाइ छ। निर्माण कम्पनीले उक्त रकम तिर्न नमानेपछि पुल हस्तान्तरण हुन नसकेको प्रमुख थापाले बताए ।

    पुल सञ्चालनमा नआउनुको अर्को कारण सडकको कमजोर अवस्था हो। पुल आसपासका सडकको अवस्था सुधार हुन नसकेको र सडकखण्डका विभिन्न स्थानमा पहिरोका कारण आवागमन अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ ।

    बेतालमाडौँ–डेल्टा सडकखण्डको बूढीगङ्गा नगरपालिका क्षेत्रमा लामो समयदेखि सडक अवरुद्ध रहेको स्थानीय दीपक रावतले बताउनुभयो। सडक बन्द हुँदा स्थानीयलाई दैनिक आवतजावत, कामकाज तथा आवश्यक सेवा लिनसमेत समस्या भइरहेको उनको भनाइ छ ।

    बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले अवरुद्ध सडक दसैँअघि नै खुलाउने तयारी गरिएको भए पनि प्रयोगमा रहेको मेसिन बिग्रिएपछि काम रोकिएको बताउनुभयो। उनका अनुसार मेसिन मर्मत भएपछि सडक खुलाउने काम तत्काल अघि बढाइनेछ ।

    दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माणमा एक दशक लाग्नु र निर्माण सम्पन्न भएपछि पनि सञ्चालन तथा हस्तान्तरण हुन नसक्नुले स्थानीय पूर्वाधार निर्माणको प्रभावकारितामाथि प्रश्न उठाएको छ । पुल निर्माणमा भएको ढिलाइको आर्थिक जिम्मेवारी टुङ्ग्याउने र सडकलाई आवागमनयोग्य बनाउने काम अघि नबढेसम्म स्थानीयले अपेक्षित लाभ पाउन सक्ने अवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images