images
images
  • ६१ रोपनीमा मालभोग केरा खेती, वार्षिक ११ लाख आम्दानी

    काठमाडौं – स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । एक रोपनी जमिनमा १०० केराका बिरुवा रोपेर सुरु गरेको उनको व्यवसाय अहिले ६१ रोपनीमा फैलिएको छ ।

    कालीगण्डकी नदीको किनारमा रहेको खेतमा केरा खेती गर्दा राम्रो उत्पादन हुने देखेपछि पङ्गेनीले यसलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । सुरुमा धान र मकै खेती हुँदै आएको जमिनमा केरा लगाउन थालेका उनले बजारमा माग बढ्दै गएपछि खेती विस्तार गरेका हुन् ।

    “व्यवसायका क्रममा मैले धेरै क्षेत्रमा हात हालेँ, तर सबैभन्दा खुसी र सन्तुष्टि यही केरा खेतीबाट मिलेको छ,” पङ्गेनीले भने ।

    उनले अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजारभन्दा बढी केराका बोट लगाएका छन् । यसमध्ये १३ रोपनी आफ्नै जग्गा हो भने बाँकी जग्गा भाडा तथा बन्धकीमा लिएर खेती विस्तार गरेका हुन् ।

    सुरुमा स्थानीय मालभोग र जी–नाइन जातका केरा लगाएका पङ्गेनीले अहिले भने मालभोग जातलाई प्राथमिकता दिएका छन्। अन्य खेतीको तुलनामा केरा खेती सहज लागेको र उत्पादित केराको बजारमा राम्रो माग रहेकाले यसैलाई निरन्तरता दिएको उनले बताए ।

    पङ्गेनीका अनुसार उनको खेतमा उत्पादन हुने मालभोग केरा आकारमा ठूलो र आकर्षक हुन्छ। विषादी तथा अखाद्य पदार्थ प्रयोग नगरी पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा यसको माग राम्रो रहेको उनको भनाइ छ। उत्पादित केरा मुख्यतः चापाकोट बजारमा बिक्री हुँदै आएको छ ।

    उनका अनुसार ठूला कोसा भएको केरा प्रतिदर्जन २०० रुपैयाँ र साना कोसा भएको केरा प्रतिदर्जन १५० रुपैयाँमा बिक्री हुने गरेको छ। हाल उत्पादन दिने बोटबाट मात्रै वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनले बताए ।

    “खेतमा रहेका करिब छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिइरहेका छन्,” पङ्गेनीले भने, “सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको छु।”

    परिवारका सदस्यले नियमित रेखदेख गर्दै आएको यस खेतीमा गोडमेललगायतका कामका लागि आवश्यक पर्दा स्थानीयले पनि रोजगारी पाउने गरेका छन् । स्थानीय बजारको मागलाई आधार बनाएर विस्तार गरिएको पङ्गेनीको केरा खेतीले कृषि व्यवसायबाट गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images