काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असोज २९ गतेदेखि सात वर्ष अवधिको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो ।
बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । यसबाट बैंकले कुल तीन अर्ब रुपैयाँ बराबरको पुँजी जुटाउन लागेको हो ।
कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।
न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिने
ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने निष्कासन गरिएका सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
केयर रेटिङको ‘ए प्लस’ रेटिङ
ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयर–एनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सम्बन्धमा पर्याप्त सुरक्षा रहेको सङ्केत गर्छ ।
ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ । सात वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् ।




















