काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ । यससँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको हो ।
बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको थियो । थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवीनता, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोग, दिगो कर्जा प्रवाह र सबल जोखिम व्यवस्थापनलाई आधार मानेर बैंकलाई सम्मान गरेको जनाएको छ ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । सम्मानित हुने संस्थामा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, नेपालको ग्लोबल आईएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंक लगायतका बैंक थिए ।
यस सम्मानले ग्लोबल आईएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बैंकले जनाएको छ । अवार्ड प्राप्त गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति बैंकले आभार व्यक्त गरेको छ ।
ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल आईएमई बैंक पहिलो नेपाली बैंक भएको बैंकको दाबी छ । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूलाई विभिन्न विधामा यो अवार्ड प्रदान गर्दै आएको छ ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ । त्यसैगरी, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा सम्मान प्राप्त गर्नुका साथै सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ र ‘बेस्ट एम्प्लोयर’ लगायतका पुरस्कारसमेत पाएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ ।





















